भैरहवा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा प्रहरी चौकी मेउडिहवा र सिद्धार्थनगर नगरपालिका वडा नं.२ को सहकार्यमा घरेलु हिंसा तथा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएकाे छ ।
प्रत्येक वर्ष आत्महत्याका घटनामा वृद्धि भइरहदा समाजमा नराम्रो असर पार्ने यस्ता क्रियाकलापलाइ न्युनिकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएकाे हाे । साे अवसरमा बाेल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.ले प्रत्येक वर्ष आत्महत्याका घटनामा वृद्धि भइरहेको बताए । उनले चालु आर्थिक वर्षमा रुपन्देहीमा १९ जनाले आत्महत्या गरेको बताए । उनले भने, ‘सानोसानो कुरामा ध्यान दिन सके आत्महत्या रोकथाम गर्न सकिन्छ । जीवनलाई सहल र सरल बनाउनुपर्छ । मान्छे बढी महत्वाकांक्षी बन्दा समस्या भइरहेको छ । ’
एसपी वि.क.ले अभिभावकले आफ्ना सन्तानको समस्या बुझ्नुपर्ने र उनीहरुलाई बढी दबाब दिन नहुने बताए । मानसिक स्वास्थ्यको बारेमा छलफल गर्न जरुरी रहेको उनको भनाइ छ । उनले विशेष गरी तराईमा ‘दहेज प्रथा’ का कारण घरेलु हिंसा र आत्महत्याका घटना समेत हुने गरेको बताए । ‘दाइजोलाई लिएर टर्चर गर्नु हिंसा हो । हिंसा सहेर नबस्नुस् । प्रहरी यस विषयमा संवेदनशील छ । घरेल हिंसा सामाजिक अपराध अन्तर्गत पर्छ, ’उनले भने । उनले विगतको तुलनामा घरेलु हिंसाका घटनामा भने कमी आएको जानकारी दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले समाजमा कुनै पनि आपराधिक क्रियाकलाप, सामाजिक विकृति, विसंगति न्यूनीकरण गर्दै समाजलाई शान्त, व्यवस्थित र मर्यादित गराउन प्रहरीसँगै समुदायका सबै व्यक्तित्वहरुको उत्तिकै भूमिका महत्वपूर्ण रहने बताए । उनले भने, ‘अपराध नियन्त्रण, रोकथाम र अनुसन्धान गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको हो । त्यो जिम्मेवारी समुदायको साथ र सहयोग बिना हुँदैन । समुदायसँग समन्वयको कमी रहयो भने पक्कै पनि काम कारवाहीमा असर पर्छ । ’ समस्यामा भएका समस्या, विकृति, आपराधिक क्रियाकलापका पीडित समाजभित्रै रहेको डीएसपी भट्टले बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले पछिल्लो समय समाजमा विकृति बढिरहँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राम्रो कार्यक्रम गरेको बताए । उनले घरेलु हिंसा र आत्महत्याका घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । वडाअध्यक्ष श्रीवास्तवले भने, ‘यस्ता कार्यक्रमबाट विकृति कसरी रोक्न सकिन्छ भन्ने विषयमा निश्चित रुपमा ज्ञानवद्र्धक कुराहरु लिएर समाजलाई सकारात्मक बाटोमा अघि बढाउन सकिन्छ ।’
सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले घरेलु हिंसा न्यूनीकरणका लागि आफैबाट सुरु गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी.ले हिंसा आफैमा नराम्रो शब्द भएको र हिंसा सहेर नबस्न आग्रह गरिन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा सदस्य दिपेश प्रताप शाही, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले बाेल्दै घरेलु हिंसा न्यूनीकरणका लागि आफैबाट सुरु गर्नुपर्ने, प्रत्येक विद्यालय तथा टोलटोलमा सञ्चालन गर्नुपर्ने, समुदाय स्तरमा बृहत रूपमा लैजान सके कार्यक्रम अझ प्रभावकारी बन्ने बताए ।
