भैरहवा । रुपन्देही प्रहरीले ३० लाख बढिको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार राती करिब साढे १० बजे सिद्धार्थनगर नगरपालिका वडा नं. ८ सिटी अस्पताल चोक स्थितमा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि ल्याउदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको हो ।
मकवानपुर थाहा नगरपालिका वडा नं. ४ का ४२ वर्षिय रामचन्द्र खत्रीले ना ३ ख ५१८९ नं. कन्टेनर (ट्रक) मा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा १४हजार ६३६ मिटर, लेडिज जुत्ता ३४० जोडी, नेट कपडा ५हजार १०४ मिटर, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस गरि ट्रक सहित कुल ३० लाख ६२ हजार २ सय ४० मुल्य बराबरको अवैध बस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
बरामद सामान, ट्रक र मानिस आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार विहान ५ बजे ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा भारतबाट अवैध रुपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल तर्फ भन्सार चोरी छली गरी लु ८ प ११३५ र युपी ५५ जेड ९२८८ नम्बरको मोटरसाईकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ गरि राखेको अवस्थामा १३६ बोरा प्याज नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए । प्याज र मोटरासाइकलको मुल्य ४ लाख ५२ हजार ५ सय रहेको कार्यालयले जानकारी दिएको छ । बरामद सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
