भैरहवा । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले आइतबारबाट गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्ना बसेका छन । लामो समय देखि अन्तराष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो । चरणबद्ध आन्दोलन गरिरहेको सञ्जालले नियमित अन्तर्राष्ट्रिय उडान गर्न पटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले बाध्य भएर धर्नाको कार्यक्रम अघि सारेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
सञ्जालकै नेतृत्वमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया गरेपनि सरोकारवाला पक्ष उदाशिन रहेकोले बाध्य भएर शुक्रबार भैरहवामा जन दबाब तथा विरोध प्रदर्शन गरिएको थियो । चरणबद्ध कार्यक्रम अन्तर्गत नै विमानस्थल केन्द्रित नियमित अन्तराष्ट्रिय उडान नभएसम्म अनिश्चितकालिन धर्नाको कार्यक्रम राखिएको अध्यक्ष ज्ञवालीले भने । सबैको चासो र चिन्ताको विषय विमानस्थल सञ्चालनमा हामीले नेतृत्व गरेर सरकारलाई दबाब स्वरुप चरणबद्ध कार्यक्रम गरिरहेका छौ विमानस्थल पूर्णक्षमतामा संचालन नहुँदासम्म आन्दोलनलाई अझै सशक्त बनाउदै लैजाने उनले भने ।
उद्घाटन भएको १६ महिना वित्दा समेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौ लगानी जोखिममा परेको भन्दै यस क्षेत्रका ३ दर्जन बढि संघ संस्थाहरु सडकमा आई विरोध जनाएका छन । धर्नामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खान, व्यसायिक संघ संस्था तथा जनप्रतिनिधीहरुले पनि साथ दिएका छन ।
विमानस्थलबाट केही समय जजिरा, हिमालयन र नेपाल एअरलाइन्सले अन्तराष्ट्रिय उडान र नेपाल एयरलाइन्सले अहिले ट्रान्जिट उडान गरेपनि हाल आन्तरिक उडान मात्रैमा विमानस्थल सिमित छ । नियमित उडान नहुँदा विमानस्थललाई लक्षित गरी लगानी गरेको निजी क्षेत्र तहसनहस नै भएको छ । अर्बौंको लगानी जोखिममा छ ।
सरकारलाई जनदवाव सिर्जजना गरि माग पुरा गराउन सञ्जालले गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दे आफ्ना बिरोध कार्यक्रम सार्वजनिक गरेको थियो ।
धर्ना कार्यक्रममा सहभागी भएका लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै भविष्य जोडिएकाले सबै जनप्रतिनिधिले आफ्नो पदको बलिदानी दिनेबेला आएको बताए । ‘यदि यो विमानस्थल चलेन भने हामी जनप्रतिनिधि र सरकारमा मन्त्री बनेर बस्नुको कुनै औचित्य हुँदैन’, उनले भने ।
यस विमानस्थल संचालनका लागि आवश्यक परेमा आफूले मन्त्रीको पदसमेत छाड्ने कुरा उनले बताउँदै आएका छन् । तथापी उनी बिरोध प्रदर्शन र धर्ना कार्यक्रममा आउँदा भने झण्डासहित मन्त्रीको गाडी र सुरक्षागार्डको सुुविधा पनि उपयोग गर्दै आएका छन् ।विमानस्थल पूर्ण क्षमतामा संचालन हुन नसक्नुको पछाडी पर्यटन व्यवसायका विभिन्न माफिया भएको आरोप उनले लगाए ।
लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खानले लुम्बिनी प्रदेशको सम्पूर्ण प्रदेश सभा सदस्यको तर्फबाट धर्नामा आफ्नो उपस्थिति रहेको र आवश्यक परेमा हजारौं जनता धर्ना कार्यक्रममा उतार्ने चेतावनी दिए ।
उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले यस बिमानस्थल निर्माणमा अर्वौंको लगानी गरेको सरकारले नीजि क्षेत्रलाई पर्यटन बिकासका लागि पूर्वाधार बनाउन भनेर पहिला उक्साउने र अहिले पछार्ने काम गरेको आरोप लगाए । सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वमहासचिव विजय पाण्डेले विमानस्थल यस क्षेत्रको समृद्धिसँग जोडिएकाले पूर्णक्षमतामा नचलाउँदासम्म आन्दोलनलाई निरन्तरता दिइने बताए । सिद्धार्थनगर नपा–४ का वडाध्यक्ष मुक्तिनाथ यादवले विमानस्थल निर्माणका लागि सयौं स्थानीय वासिन्दाले आफ्नो सम्पूर्ण घरखेत समेत दिएर बेघर बनेको बताए ।
सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले यदि यो विमानस्थल आवश्यक नभएको भए सरकारले अर्बौंको लगानी गर्नुको कुनै औचित्य नरहेको बताए । ‘यो विमानस्थल शिलान्यास हुँदा जुन उत्साह थियो, त्यो सबै सरकारमा बस्नेको अकर्मण्यताले निराशामा परिणत भयो’, उनले भने ।
मुआब्जा र निर्माण लागत गरेर विमानस्थल बनाउँदा ४० अर्ब बढी लगानी भएको छ । विमानस्थललाई लक्षित गरी निजी क्षेत्रबाट पनि ४० अर्ब बढी लगानी भएको बताइन्छ । विमानस्थल फुलफेजमा नचल्दा एकातर्फ राज्यले ठूलो रकम घाटा व्यहोरीरहेको छ भने निजी क्षेत्र पनि टाँट पल्टिएको छ । लुम्बिनीलाई केन्द्रमा राखेर बनाइएको विमानस्थल फूलफेजमा संचालनमा आउँदा दैनिक १० हजार पर्यटक भैरहवा ओर्लिने विश्वास थियो । तर, उक्त विश्वास अहिले निराशामा बदलिँदै गएको छ । जसले गर्दा निजी क्षेत्र हत्तोत्साहित भएको छ ।
अघिल्लो हप्ता भैरहवा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आन्दोलन स्थगित गरेर व्यवसायीलाई वार्तामा आउन आह्वान गरेका थिए । जसअनुसार पुस २ गते काठमाडौं बार्ता गरिने सिद्धार्थ संजालले जनाएको छ । बार्तागरेपनि आन्दोलन भने नरोकिने सञ्जालको भनाई छ ।
