भैरहवा । भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर बिद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उापधि लुम्बिनी शिक्षा निकेतनले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा श्री शान्ति नमुना सेकेण्डरी स्कुल मणिग्राम लाई २८ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । जसका लागि अजाजुल हकले अविजित ४०, अब्दुल हबिबले अविजित २५ र विन्दाराम गडेरियाले २४ रन बनाए । बलिङतर्फ शान्तिका अशुतोष पाण्डे २ र रुबिन पराजुलीले १ विकेट लिए ।
१ सय ३० रनको लक्ष्य पाएको श्री शान्ति नमुनाले सबै ओभर खेल्दै १ सय १ रन मात्रै बनाउन सक्यो । जितको लागि लक्ष्यमा पुग्न नसकेको शान्तिले अनततः २८ रनको हार व्योहोर्दै उपविजेता बन्न पुग्यो । शान्तिका लागि अशुतोष पाण्डले २४, नविन भण्डारीले १७ र समिर नेपालीले १५ रनको योग्दान गरे । बलिङतर्फ लुम्बिनीका अफसर खान र अब्दुल हबिबले २–२ विकेट, सरबरे आलम र सन्दिप लोधले १–१ बिकेट लिए । फाइनल खेलमा लुम्बिनीका अब्दुल हबिब म्यान अफ द म्याच घोषित भए ।
पर्वत ज्वैलर्सको मुख्य प्रायेजनमा मंसिर १६ गतेदेखि भएको प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयको सहभागिता रहेको थियो । जितसँगै विजेताले नगद रु ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक विजय सिंह ज्ञवालीले जानकारी दिए ।
यस्तै प्रतियोगितामा शान्ति नमूनाका आशुतोष पाण्डे म्यान अफ द सिरिज तथा बेष्ट बलर भइ नगद १० हजार र ५ हजार रुपैयाँ पाए । यस्तै, लुम्बिनी शिक्षा निकेतनका एजाजुल हक बेष्ट ब्याट्सम्यान घोषित भइ ५ हजार रुपैयाँ प्राप्त गरे भने काशी नोबल एकेडेमी अनुसाशित टिम घोषित संयोजक ज्ञवालीले जनाए । उनीहरुलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता ले पुरस्कृत गरेका छन ।
सुनचाँदी व्यवसायी विमल सेन्चुरीका हजुरबुवा स्वर्गीय शेरबहादुर सेन्चुरीको सम्झनामा विगत एक दशकदेखि भैरहवा अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता भइरहेको छ । १० वर्षदेखि सेन्चुरीले नै मुख्य प्रायोजन गरेर प्रतियोगितालाई निरन्तरता दिएकाे र यस क्षेत्रमा याे प्रतियोगताले धेरै खेलाडी उत्पादनमा सहयोग पुर्याएकाे रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए । उनले क्रिकेटको विकासमा स्कूल र कलेजस्तरको प्रतियोगिताहरुले भविष्यका निम्ति नयाँ प्रतिभाहरु उत्पादन गर्ने दिशातर्फ यस्ताे प्रतियाेगिताले महत्वपूर्ण भूमिका खेलेकाे बताए । गत वर्ष यो प्रतियोगितामा १३ वटा टीमको सहभागिता रहे पनि अहिले १६ वटा टिमले सहभागिता जनाएकको थियो ।
