सिद्धार्थनगर ३ मा तेस्रो वडाकप टेनिसबल क्रिकेट

भैरहवा। सिद्धार्थनगर नगरपालिका ३ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा बिहीबारदेखि भैरहवामा तेस्रो वडाकप टेनिसबल क्रिकेट प्रतियोगिता–२०८० सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ सिद्धार्थनगर–३ स्थित सिद्धार्थ रंगशालामा प्रतियोगिता सुरु भएको कार्यक्रम संयोजक गोपाल प्रसाद ढकालले बताए । शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा दरखसवा, छत्रपति मल्ल पथ, काटा गाउँ, खजहना, आँखा अस्पताल, दुर्गा क्लब, महामाया पथ र खजुरिया गरी ८ वटा टीमको सहभागीता रहेको छ । आयोजकका अनुसार प्रतियोगिता ‘नकआउट सिस्टम’ मा हुनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले खेलाडीमा अनुशासन आवश्यक रहेको बताए । उनले उत्कृष्ट खेलाडी बन्न आफूभित्र रहेको रिस हटाउन आग्रह गरे । उनले भने, ‘नेपालमा अब्बल क्रिकेट खेलाडी छन् । यहाँ क्रिकेटको राम्रो सम्भावना छ । ’नगरप्रमुख खानले खेलकुदले शरीरलाई स्वस्थ राख्ने बताए ।

त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरका खेलाडीहरुले क्रिकेट प्रतियोगितामा प्रतिनिधित्व मात्र नभइ उत्कृष्ट प्रदर्शन गरेर नगरलाई चिनाउन सफल भएको बताइन् । उनले सिद्धार्थनगरमा क्रिकेट रंगशाला रहेकोले यसको अधिकतम प्रयोग गर्न आग्रह गरिन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले हौसलाका साथ अनुशासित भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे । उनले वडा कप क्रिकेट प्रतियोगितामा सहभागी भएका खेलाडीहरु राष्टिय खेलाडीको रुपमा आफूलाई स्थापित गर्ने चाहना रहेको बताए । उनले प्रतियोगिताको विजेतालाई रु. २० हजार र उपविजेतालाई रु. १० हजार प्रदान गरिने जानकारी दिए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थनगर ३ नम्बर वडा कार्यालयले क्रिकेट प्रतियोगिताको आयोजना गरेकोमा रुपन्देही क्रिकेट संघ खुसी भएको बताए । उनले सिद्धार्थनगर–३ मा अवस्थित सिद्धार्थ रंगशालामा सिद्धार्थनगर नगरपालिकाको पनि उत्तिकै सहयोग गरेको बताए । अध्यक्ष थापाले क्रिकेट प्रतियोगिताले पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्ने बताए । रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!