‘नेपालको शैक्षिक विकासमा भारत सरकारको सहकार्य प्रशंसनिय’

भैरहवा । नेपालको शैक्षिक विकासमा भारत सरकार र भारतीय दुतावसको सहकार्य प्रशंसनिय रहेको बताएका छन । आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको बताए ।

दुई देशको सम्बन्ध धार्मिक, सांस्कृति र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकोमा भारत सरकारलाई धन्यवाद दिदै उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको बताए ।

नेपालका लागि भारतीय कार्यबाहक राजदुत प्रशन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै मजबुत बनाउँदै लगेको बताए । उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै खासगरी शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिए । ‘भारतसँगको सहकार्य र भारतको सहयोगमा निरन्तर नेपाली नागरिकले समर्थन गरिरहेका छन्, यो प्रशंसायोग्य छ’, उनले भने ।

उनले “हाई ईम्पेक्ट कम्युनिटि डेभलपमेन्ट परियोजना” २० बर्ष पुरा भएको बताउदै यस अवधिमा यस परियोजना अन्र्तगत ५ सय ५० भन्दा बढी परियोजना सुरु गरेको बताए । यस मध्ये रुपन्देहीमा १२ परियोजना सहित लुम्बिनी प्रदेशमा ७ परियोजना सुरु गरिएको उनको भनाई छ । रुपन्देहीमा निर्माणाधिन एकिकृत जाँच चौकी पनि यसै परियोजनाको हिस्सा भएको श्रीवास्तवले बताए ।

रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले भारतले नेपालको शैक्षिक विकासमा गरेको योगदान महत्वपूर्ण रहेको जनाए । उनले विद्यालय पूर्वाधार सम्पन्न हुँदा विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन पनि सहयोग पुग्ने बताए । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माले आफूले क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएको दावी गरे ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले पूर्वाधारसँगै पठनपाठन राम्रो भए विद्यालय शिक्षा सुध्रिने जनाए । उनले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरिरहेको बताए । मन्त्री गुप्ताले नेपालको विकास साझेदार भएर सहयोग गर्दै आएको भन्दै भारतीय राजदुताबासलाई धन्यवाद व्यक्त गरे ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले दशक अघि विद्यालय भवन निर्माण भए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको जनाउँदै उपराष्ट्रपतिको हातबाट उद्घाटन गराउन पाउँदा गाउँपालिकाबासी हर्षित रहेको बताए । उनले पालिकाले शैक्षिक सुधारका लागि अनेक प्रयास गरिरहेको र प्रदेश र संघ सरकारको सहयोग जरुरी रहेको जनाए । अध्यक्ष यादवले रोहिणी क्षेत्रमा शैक्षिक विकासमा भारत सरकारको सहयोग स्मरणीय रहेको जनाउँदै आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

राप्रपाका युवा नेता प्रज्वल बोहराले समग्र रुपन्देहीको विकासमा आफ्ना बुवा एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । भारतको अनुदान सहयोगमा नेपाली १ करोड ४९ लाख रुपैयाँ लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुई तल्लाको उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!