राष्ट्रिय कर सप्ताह: करदाता सम्मानित, दायरा बढाउन जोड

भैरहवा । राष्ट्रिय कर सप्ताह समापनको अवसरमा रुपन्देहीमा धेरै आयकर र मूल्यअभिबृद्धि कर बुझाउने करदाता सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय, भैरहवाले कर सप्ताहको समानको अवसरमा बिहीबार एक समारोहबीच करदातालाई सम्मानित गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बढी आयकर तिरेवापत वित्तीय क्षेत्रबाट उन्नती सहकारी लघुवित्त वित्तीय संस्था, उद्योग क्षेत्रबाट मेघा केमिकल इण्डष्ट्रिजका संचालक एलिशा श्रेष्ठ र ब्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने पुजा टे«डर्सका अनुपकुमार जैसवाल सम्मानित भएका छन् । यस्तै, सबैभन्दा बढी मूल्य अभिबृद्धि कर जम्मा गर्ने जय श्री फ्लर्स मिल प्रालिका सुभग सिंघल पनि सम्मानित भएका छन् । सो अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा नायव सुब्बा दिनेश खनाललाई समेत नगदसहित सम्मानित गरिएको थियो ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, समाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नारासहित यस वर्ष राष्ट्रिय कर सप्ताह मनाइएको थियो । २०६९ देखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ भने उक्त दिनदेखि एक हप्तासम्म कर सप्ताह मनाइन्छ । आन्तरिक राजस्व कार्यालय भैरहवाले यस वर्ष कर सप्ताहका अवसरमा कर सचेतना, कर शिक्षा र अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको जनाएको छ ।

सप्ताहको समापनको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकारकी प्रमुख सचिव राधिका अर्यालले कर तिर्नु हरेक नागरिकको दायित्व भएको बताइन् । उनले पछिल्लो समय करका दायराहरु फराकिलो हुँदै गएको भन्दै कर तिर्ने बानीको विकास सबैले गर्नुपर्नेमा जोड दिइन् । कर प्रशासन व्यवस्थित भए मुलुक समृद्ध बन्ने उनको भनाई छ । उनले व्यवसायीका मर्काप्रति आफूहरु सचेत रहेको र प्रदेश सरकारले अप्ठ्याराहरुमा निजी क्षेत्रलाई साथ दिएर अघि बढ्ने जनाइन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लो समय आर्थिक क्षेत्रमा केही सिथिलता आएको जनाउँदै प्रशसनले निजी क्षेत्रको सकारात्मक काममा सधैं हातेमालो गर्ने जनाए । उनले सभ्य नागरिकलाई कर तिर्ने र राज्यले त्यसलाई सही सदुपयोग गर्ने बताए । उनले चोरीतस्करी गरी कर छल्ने वा उपभोक्ता एवं राज्यलाई छल्नेलाई कानूनी दायरामा ल्याइने जनाउँदै राम्रो गर्नेलाई सधै साथसहयोग हुने बताए । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख शान्तिराम निरौलाले आफूहरुले सधैं करदाताको हितका लागि काम गरिरहेको जनाए । उनले कर शिक्षा र प्रविधिलाई अझ प्रभावकारी बनाउँदै लगेको बताए । निरौलाले करका दर नभई दायरा फराकिलो बनाउन आफूहरु लागिपरेको बताए ।

कार्यक्रममा अडान रुपन्देही अध्यक्ष रामप्रसाद पौडेल, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कँडेल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष दीलिप सापकोटा, सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवाली, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसाल लगायतले बोल्दै करका दर बृद्धिमा सरकारले ध्यान दिइरहेको भन्दै दायरा बढाउनुपर्नेमा जोड दिए । उनीहरुले अहिले निजी क्षेत्र चरम आर्थिक मन्दीको मारमा परेको जनाउँदै सरकार सहयोगी बनेर कर तिर्ने समयावधि थप गर्नुपर्ने, राहतका कार्यक्रम ल्याउनुपर्ने र व्यवसायीलाई हत्तोसाहित गर्न नहुनेमा जोड दिए । उनीहरुले अहिले कर प्रणाली सुधार हुँदै गइरहेको जनाउँदै अझै व्यवसायमिैत्री हुनुपर्नेमा जोड दिए ।

आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत धनिश्वर अर्याललका अनुसार कार्यालय मातहत २०८० कार्तिक मसान्तसम्म व्यक्तिगत प्यान लिनेको संख्या ७० हजार ८७० छ । यस्तै, व्यवसायिक प्यान लिनेको संख्या ३९ हजार ५८५, मूल्य अभिबृद्धि कर नम्बर लिनेको संख्या ६ हजार ५६९, अन्तशुल्कका करदाता ३ हजार ५६६ र सरकारी कार्यालयले ३६१ ले स्थायी लेखा नम्बर लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!