भैरहवा । नेपाली हिन्दुहरुको दोस्रो महान पर्व यमपञ्चक (तिहार)को समापनसँगै तराईका जिल्ला सहित रुपन्देहीको भैरहवा आसपास छठपर्व हर्षोल्लासका साथ मनाइदै छ । मिथिलाञ्चलवासीको महान् पर्व तथा आस्थाको रुपमा मानिने छठ पर्व भैरहवामा पनि धुमधामका साथ मनाइएको हो । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले बिगत ५ दशक बढि देखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा सामुहिक रुपमा मनाउदै आएता पनि हाल केही वर्ष देखि गल्लामण्डीमा बनाइएको छठ पोखरीमा पनि मनाइदै आएको छ । छठ पर्वमा आस्था बढ्दै गएसँगै यस वर्ष गल्लामण्डीको हनुमान मन्दिरमा पोखरी थप गरिएको छ भने वडा नं. १ मा पनि छठ पोखरी व्यवस्थित गर्दै छठको पूजा गरिएको छ ।
यसका साथै भैरहवा आसपास डण्डा नदि बसन्तपुर, गोनाहिया, बेथरी लगायतका जलाश्यमा पनि छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइ छठ पुजा गरिएको छ । केहीले घरमा नै जलाश्य स्थापन गरी पुजा गरेका छन ।
छठ पर्वलाई नै लक्षित गरी केही दिन देखि छठ पूजाका सामग्रीको जोहोका लागि किनमेलमा व्यस्त थिए । तराई–मधेसका प्रमुख बजारसाथ साथै सिमापरि सुनौली, फरेनिया, नौतनवा र कोल्हुई सम्म नेपालीहरु छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको चहलपहल रहेको थियो । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा विभिन्न प्रकारका फलफुल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ । यि सामान किन्न भैरहवाको मुख्यबजारमा पनि उस्तै भिड रहेको थियो ।
भक्तजनहरुको सुविधाका लागि पोखरी सफा गरी सजावट, सुरक्षा र प्राथमिक उपचारको पनि व्यवस्था गरिएको छठ पुजन समिति सिद्धार्थनगरका संयोजक आनन्दप्रसाद गुप्ताले बताए । श्रदालु भक्तजनहरुका लागि विगत केही वर्ष देखि २ ठाँउमा पुजा गर्ने व्यवस्था गरेका छौँ । हजारौं भक्तजनहरुले पूजा गरिसकेको उनले बताए ।
ठाँउको अलिकति समस्याका कारण दुवै ठाँउको पोखरी डिलमा भक्तजनहरुले पहिलै आएर पुजा गर्ने स्थानमा माटोको मन्डप बनाएका थिए, यस वर्ष काली भक्ती छठ पोखरीमा २ हजार बढी बेदी बनाएका थिए भने रामजानकी मन्दिरको पोखरीमा पनि उस्तै वेदी मन्डप बनाइ पुजा गरेको छठ पूजा समिति हनुमान मन्दिरका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले जानकारी दिए । श्रीराम जानकी हनुमान मन्दिर ३ बिघा ३ कठ्ठा १७ धुरको क्षेत्रफलमा फैलिएको छ । यहाँ विगत ७ वर्षदेखि छठपूजा हुँदै आएको छ ।
यो पर्वमा चोखो र शुद्धतामा अन्यन्तै ध्यान दिने गरिन्छ साथै विधि र विधानले छठपूजा गरिए सम्पूर्ण कष्ट हटेर जान्छ भन्ने जनविश्वस पनि छ । जसका लागि अस्ताउँदो र उदाउँदो सूर्यलाई आराधाना गरिन्छ । मधेसी समुदायले मात्र मनाउने यो पर्व पछिल्लो समय पहाड एवं हिमालीक्षेत्रमा पनि मनाउन थालिएको छ ।
कार्तिक शुक्ल पक्षको चौथी तिथि शुक्रबारको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । छठी माईका नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देही जिल्लाभरका प्राय सबै क्षेत्रका जलाशयमा धुमधामका साथ मनाउने गर्छन ।
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व भैरहवा क्षेत्रका वासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिनसम्म विभिन्न विधि गर्दै मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ शुक्रबार देखि सुरु भएको छ । पहिलो दिन व्रतालुहरु नुहाई धुवाई गरि चोखो भई आफै तयार गरेको स्वच्छ सफा सात्विक भोजन(खाना) गरेर वर्त बसिन्छ, जसलार्ई अरबाइन वा अरबा पनि भनिन्छ ।
त्यसतै ’खरना’ भनिने दोस्रो दिन दिनभर व्रतालुहरु उपवास निराहार बसेर साँझको समयमा छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरिन्छ र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा रोटी, खीर, नैवेद आदि शान्तमय वातावरणमा भोजन गरी आफ्ना साखासन्तानलाई ’खरना’को प्रसाद वितरण गर्ने चलन छ ।
छठ पर्वको तेस्रो तथा मुख्य दिन आइतबार षष्ठी तिथिमा सफा बस्त्र लगाई गहुँ÷चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाजर, बेसारको गाँहो, अदुवा,भोगटे, उखु, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, र मिठाइ सहितका प्रसादहरुलाई बाँसले बनाइएको ढक्की नाङ्लो आदिमा राखेर जलाशयको छेउमा गएर व्रतालुहरु पानीमा बसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गरिन्छ ।
सप्तमी तिथि अर्थात चौथौ र अन्तिम दिन सोमबार बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन उदाउँदो सूर्य र षष्टी मातालाई दोस्रोअर्घ दिई छठ सम्पन्न गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणतिर भएकाले कन्या राशि स्थिीत हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर प्रभावकारी र मानवका लागि आल्हादकारी हुन्छ । सूर्यको प्रभाव पृथ्वीमा पर्ने भएकाले सूर्यको किरण र पृथ्वीको उर्वरशक्तिले मात्र सम्पूर्ण जीव जीवात्माका जीवन सम्भव भएकाले पनि प्राचीन समयदेखि नै ऋषि महर्षिले पृथ्वीलाई धरणी र सूर्यलाई ग्रहणी भन्दै यिनका महिमालाई नतमस्तक भई स्वीकार गरेका छन् । ऋगवेदमा सूर्य नै बल यश चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै श्रद्धालुहरुले पनि सोही कुराको प्राप्तिका लागि यो पर्वमा पूजापाठ गरी मनोवगत फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
इसा पूर्वमा आदिकालमा सति अनुसूयाले रोगग्रस्त पतिलाई निको हुनका लागि भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग जोडिएको छ । त्यसैगरी महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
