भैरहवा । रुपन्देहीको ठुटीपिपलमा अवस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारीले एकाई बैठक सम्पन्न गरेको छ । संस्थाको एकीकरण पछिको पाँचौ वार्षिक साधारण सभा एवम् दोश्रो निर्वाचन कार्यक्रमको स्वीकृत विनियमको दफा २९ बमोजिम ओमसतिया, सियारी, तिलोत्तमा र सिद्धार्थनगर भूगोल क्षेत्रमा आधारित छुट्टाछुट्टै आयोजना गरि बैठक सम्पन्न गरेको हो ।
तिलोत्तमा–१३ मा भएको वैठक संस्थाका अध्यक्ष डी.बि. थापाको अध्यक्षता तिलोत्तमा–१३ का वडाध्यक्ष नारायण ढकालको प्रमुख आतिथ्यतामा भएको थियो भने सिद्धार्थनगर नगरपालिका–८ मा आयोजना गरिएको वैठकमा सिद्धार्थनगर नगरपालिका–८ का का.वा. वडाध्यक्ष हरि प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । यस्तै केन्द्रिय कार्यलय अन्तर्गतको ओमसतिया–१ ठुटिपिपल स्थित ओमसतिया र सियारी गा.पा. लक्षित एकाई बैठकको अध्यक्षता उपाध्यक्ष परसुराम बास्तोलाको र प्रमुख आतिथ्यता संस्थाका वरिष्ठ सल्लाहकार भीमबहादुर पुनको रहेको थियो ।
गणपूरक सदस्य सख्याको उपस्थितिमा भएको सभाको अवसरमा गत वर्षको कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने प्रशान्त बास्तोला, सुबोध खड्का, सुजन सराङकोटि मगर, बेनुमाया गुरुङ, भावना जोशी र समिक्षा क्षेत्रीलाइ जेहन्दार युवा विद्धार्थीहरुलाई कदर पत्रद्वारा सम्मान गर्नुको साथै पन्ध्र सयको सस्थाको सेयर प्रदान गरि सेयर सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
एकाई बैठकमा प्रमुख अतिथि सहित प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, लुम्बिनी प्रदेश सहकारी संघ लि.को संचालक प्रकाश भट्टराई, सिद्धार्थनगर ८ का वडा सदस्य थानेश्वर पाण्डेयले लगायतले बाहिरबाट आएको सहकारीमा समस्या देखिएकोले स्थानीय स्तरमा संचालित सहकारीमा सदस्य बन्न आग्रह गरे । उनीहरुले टुगा सहकारीले सदस्य र समुदायमा पारेको सकारात्मक प्रभाव र बिश्वास जितेको बताउदै शेयर सदस्य सचेत भएमा सहकारी दिगो हुन बताए । उनीहरुले संस्था आर्थिकको साथै सामाजिक काममा पनि अग्रसर भएकोले थप सामाजिक काममा लाग्न आग्रह गरे ।
आगामी मंगसिर ९ गते संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा हुने साधारण सभाको निर्णय प्रमाणितका लागि एकाई बैठकले ५४ जना प्रतिनिधि सदस्य र प्रति बैठक १६ जनाको दरले निर्णय प्रमाणित गर्ने प्रतिनिधि सदस्य चयन गरेको छ । सोही अवसरमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण पनि हुने संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापाले जानकारी दिए । उनले संस्थाको असार मसान्तसम्मको कुल ७६ करोड ३ लाखको वासलात रहेको पूंजीमा ७ करोड ६४ लाख सेयर पूंजी, ४६ करोड २७ लाख बचत निक्षेप, ५६ करोड ९५ लाख ऋण लगानी, सस्थागत पूंजी ४ करोड ६३ लाख र स्थिर सम्पत्ति २ करोड रहेको जानकारी दिए । लक्ष्यको ८९ प्रतिशत प्रगति हासिल गरेको बताउदै करिब १ करोड ८२ लाख शुद्ध बचत (मुनाफा) गरेको मुख्य प्रवन्धक थापाले जानकारी दिए ।
सहकारीमा सदस्यहरुका लागि पाँचलाखको दुर्घटना बीमा सुविधा, ऋण बीमा, निःशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ्य सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पत्ति स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान, बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको छ ।
१८ वर्ष अगाडि स्थापित ३ वटा सहकारी ४ वर्ष अघि एकीकृत भई संचालित छन । ३६५ दिन सेवा दिने सोचका साथ वित्तिय सेवा दिइरहेको संस्थामा ६ हजार ४ सय ७० सदस्य रहेका छन ।
