भैरहवा । तिहारको समापन सँगै भैरहवामा छठपर्वको रौनक छ । छठ पर्वको दोस्रो दिन, आज खरना गरी मनाइँदै छ। यस दिन व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने गर्दछन्।कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन्।
षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ। यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ।
सप्तमी तिथि भोलि भए पनि छठपर्व पर्सि सोमवारसम्मै मनाइने भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार हिजो चतुर्थीदेखि छठपर्व शुरु भएको छ । यसपालि तिथिको घटबढका कारण आज पञ्चमी र षष्ठी तथा भोलि षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाउने तयारी भएको छ ।
भोलि सप्तमी तिथि भए पनि पर्सि सोमवार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिए ।
छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ। छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ।छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ।
सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइ मनाइने छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण नेपाली सेनाको ब्यारेकभित्र र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरीमा छठपूजाको तयारी पुरा भएको छ । ५० बर्ष पहिलै देखि काली भक्ती गणमा र उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा ५ वर्ष अघि देखि छठको पूजा गरिदै आएको छ ।
