काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ ।
एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ ।
राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।
एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ । एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।
आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निस्शुल्क दर्ता गराउन सकिन्छ ।
करिब ६० लाख मोबाइल सेट ग्रे जोनमा
नेपाल भित्रिएका मोबाइल सेटमध्ये करिब ६० हजार सेट ग्रे जोनमा रहेको प्राधिकरणले जनाएको छ । यी मोबाइल सेट गैरकानुनी प्रक्रियामार्फत नेपाल भित्रिएको हुन सक्ने प्राधिकरणको अनुमान छ ।प्राधिकरणका अनुसार हालसम्म ६ करोड आइएमइआई नम्बर अर्थात् तीन लाख मोबाइल सेट एमडिएमएस सिस्टममा दर्ता भइसकेका छन् । तर, करिब ६० हजार मोबाइल सेट भने दर्ता नभई प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ । बारम्बारको ताकेतापछि पनि यी मोबाइल एमडिएमएस प्रणालीमा दर्ता नहुनुले अवैध भएको अनुमान गरिएको छ ।
प्राधिकरणले उच्च मूल्यका मोबाइल सेटपछि अन्य मोबाइल सेट पनि ब्लक गर्ने तयारी गरेको छ । तर, बारकोड मोबाइल सेट भने दर्ता नभए पनि चल्न दिनुपर्ने प्राधिकरणका अध्यक्ष खनालको तर्क छ । ‘बारकोड मोबाइल सेट प्रायः गरी घरमा बाआमाले प्रयोग गर्नुहुन्छ । यस्ता मोबाइलमा खासै कडाइ गर्नुपर्ने आवश्यकता देख्दिनँ,’ उनले भने ।
त्यसैगरी, प्राधिकरणले मोबाइल ब्रान्डअनुसार पनि ब्लक प्रक्रिया अगाडि बढाउने विषयमा योजना बनाइरहेको छ । प्राधिकरणले पछिल्लोपटक गत ४ कात्तिकमा सूचना जारी गर्दै १५ दिनभित्र एमडिएमएसमा दर्ता गर्न आग्रह गरेको थियो । सो अवधिमा पनि दर्ता नभएका मोबाइल सेट नेपालमा नचल्ने प्राधिकरणले जनाएको थियो ।
एक वर्षपछि पूर्ण कार्यान्वयनमा आउँदै
परीक्षण सुरु गरिएको एक वर्षपछि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस पूर्ण रूपमा कार्यान्वयन गर्ने भएको छ । अनेक विवादबीच प्राधिकरणले सोमबारदेखि एमडिएमएस पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो ।प्राधिकरणले अवैध रूपमा नेपाल भित्रिएका मोबाइल सेटलाई नियन्त्रण गर्न ०७९ असोजदेखि एमडिएमएस प्रणाली आंशिक लागू गरेको थियो । साथै, पुस १५ देखि पूर्ण रूपमा सञ्चालन गर्ने घोषणासमेत गर्यो । यो सिस्टम सञ्चालनमा आएपछि नेपालभित्र चल्ने सबै मोबाइल अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । यसले नेपालमा खरिद गरिएका मोबाइल मात्रै नेपालमा चल्ने हुन्छ । तर, विदेश गएका नेपालीले साथमा ल्याउने मोबाइलको हकमा भने व्यक्ति आफैँले सिस्टम दर्ता गर्नुपर्ने व्यवस्था छ ।
यस्ता मोबाइल दर्ता गर्दा मोबाइलको वैधानिकता प्रमाणित गर्न भन्सार विभागले प्रज्ञापनपत्र अनिवार्य प्रदान गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ । तर, भन्सार विभागले विदेशबाट आउने व्यक्तिले साथमा ल्याएको एउटा मोबाइललाई मात्रै प्रज्ञापनपत्र दिने भयो ।
विदेशमा नै प्रयोग गरिएको मोबाइल पनि नेपालमा नचल्ने अवस्था आयो । यस्तो व्यवस्थाको चौतर्फी विरोध भयो, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले नो रेमिट्यान्स अभियान सुरु गर्ने अभियान चलाए । विरोधको दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल एमडिएमएस सञ्चालन नगर्न आदेश दिए । आदेशपछि एमडिएमएस तत्कालका लागि स्थगित गरियो ।
त्यस्तै, प्रधानमन्त्री दाहालले विदेशबाट आउने नेपालीले मोबाइल ल्याउने प्रक्रियालाई सरल बनाउन निर्देशन दिएपछि गत जेठदेखि पुनः एमडिएमएस आंशिक रूपमा सुरु भएको हो । नेपालमा वार्षिक १४ अर्ब रुपैयाँबराबरको अवैध मोबाइल सेट भित्रिने गरेको नेपाल मोबाइल वितरक संघले जनाएको छ । संघका अनुसार विभिन्न नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध मोबाइल सेट भित्रिन्छ । नेपालमा वार्षिक ३८ अर्बदेखि ४० अर्बबराबरको वैधानिक मोबाइल सेट आयात हुन्छ ।
