राहतमा रुपन्देहीको एकद्वार प्रणाली

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भुकम्पप्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने निर्णय गरेको छ । आइतबार बिहान विपद् व्यस्थापन समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले राहत तथा सहयोगलाई प्रभावकारी बनाउनका लागि एकद्वार बनाउने निर्णय गरेको हो ।

रुपन्देही प्रशासनले जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, संघ–संस्था तथा सरोकारवाहरुसँगको बैठक राखेर प्रचारमुखी र लोकप्रियताका लागि घोषणा गरिने राहतलाई निरुत्साहित गर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार मध्यराति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति पुर्याएको थियो ।

कार्यालयले स्थानीय सरकार, संघ–संस्था तथा व्यक्तिले गर्ने सहयोगलाई जिल्ला प्रशासन कार्यालयमा संकलन गरी स्थानीय प्रशासनमार्फत प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको प्रजिअ गणेश अर्यालले जानकारी दिए । उनले भुकम्प प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको अभाव रहेको बुझिएकाले सोहीअनुरुपको राहत सामग्री संकलन गरी पठाउन लागिएको बताए ।

खाद्यान्न तथा अन्य राहत सामग्री पठाउनका लागि दुईवटा ट्रक समितिले ४ वटा ट्रक उपलब्ध गराउने र तत्काल ती ट्रकबाट खाद्यान्न तथा लत्ताकपडा पठाउन लागिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

पहिलो चरणमा सियारी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाले संकलन गरेको राहत सामग्री पठाउन लागिएको अर्यालले जानकारी दिए । उनले बलाङकेट, म्याटरेस, दाल, चामल, तेल, आलु, चिनी, चिउरा, दालमोट, बिष्कुट र चाउचाउ पठाउन लागेको बताए ।

एक ट्रक सामाग्री बुटवल उपमहानगरपालिकाको संयोजनमा पठाउन लागिएको छ भने अर्को एक ट्रक सामग्री सियारी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको संयोजनमा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन लागिएको छ ।

राहत संकलन गर्दै सिद्धार्थनगर नगरपालिका
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भुकम्पले प्रभावित पीडितहरुका लागि विभिन्न संघ–संस्थाको समन्वयमा राहत संकलन कार्य सुरु गरेको छ । संकलन गरिएको राहत ९आवश्यक सामग्री० जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा प्रभावित जिल्लामा पठाइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

कार्यपालिकाको बैठकले सिद्धार्थनगरको कार्यालय, जनप्रतिनिधि र कर्मचारीको तर्फबाट गरी कुल २२ लाख ५४ हजार पाँच सय रुपैयाँ र २ सय थान कम्बल पठाउने निर्णय गरेको नगरप्रमुख खानले बताए ।

त्यस्तै पालिकाले विभिन्न संघ–संस्थाबाट पनि राहत सामग्री संकलन गरेको छ । नगरपालिकाको उपप्रमुख उमा अधिकारीका अनुसार नगरको रोट्रयाक्ट क्लबबाट ५ सय केजी, सिद्धार्थ उद्योग वाणिज्य रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले संयुक्त रुपमा २५ सय किलो, उद्योग व्यापार संगठन रुपन्देहीले ५ सय किलो चामल, नमुना एकीकृत विकास परिषद रुपन्देहीले ३० थान सिरक, सिद्धार्थ संजाल रुपन्देहीले चाचाउ र २० किलो फुरनदाना उपलब्ध गराएको छ ।

जिल्लाका विभिन्न पालिकाबाट संकलन गरिएको राहत जाजरकोटका लागि सोमबार साँझ ट्रकमा पठाइएको उनले बताइन् । त्यस्तै जिल्लाको अन्य पालिकाहरुले आवश्यक राहत संकलन गरी एकीकृत गरिरहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

सियारीले पठायो भुकम्पप्रभावित क्षेत्रमा राहत सामग्री 

सियारी गाउँपालिका, रुपन्देहीले जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहितको राहत सामग्री पठाएको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको संयोजनमा खाद्यान्न तथा लत्ताकपडा पठाएको हो ।

भुकम्पप्रभावित क्षेत्रका लागि संकलन गरिएको राहत सामग्री गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी र कार्यपालिका सदस्य पदम मिजारले आइतबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरे ।

पालिकाले २५ क्वीन्टल चामल, ४ क्वीन्टल मसुरो दाल, १ क्वीन्टल चिउरा, १ क्वीन्टल सोयाबीन, ६० पिस स्वीटर, ४० पिस ब्लाङकेट, ४० पिस सिरक, ५० पिस डसना खरिद गरी भुकम्पप्रभावित क्षेत्र पठाइएको अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

बुटवलकाे २५ लाख र संघसंस्थाले दिए नगद सहयोग

बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि अपील गरेको छ। गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरुको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरुलाई एकीकृत रुपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो।

बुटवल उपमहानगरपालिकामा बसेको आइतबार बैठकले बुटवलभित्रका सामाजिक संघ संस्था, व्यक्ति र क्लबहरुले पठाउने राहत सामग्री जाजरकोट र रुकुम पश्चिमसम्म पठाउन बुटवल उपमहानगरपालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ। जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पठाउँदा अव्यवस्थित भएको र वितरणमा कठिनाई भएकाले व्यवस्थित र एकीकृत रुपमा पठाउने र वितरण गर्ने संघीय सरकारको तयारीबमोजिम एकीकृत रुपमा राहत सामग्री पठाउने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

प्रमुख पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले राहत सामग्री र भौतिक संरचना निर्माणका लागि तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने र आवश्यकताअनुसार अन्य सहयोग गर्ने निर्णय भएको छ। जसमा जनप्रतिनिधि र कर्मचारीको योगदान रहने उनले बताए।‘विपदका समयमा चर्चा कमाउनकै लागि राहत पठाउने र प्रभावितले नपाउने विगतको भोगाइलाई ध्यानमा राखेर हामीले जाजरकोट र रुकुम पश्चिममा संघ र प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरेर भौतिक संरचना बनाइदिने योजना बनाएका छौं, उनले भने यसले दीर्घकालीन रुपमा स्थानीयलाई पनि लाभ हुनेछ।’

बुटवल उपमहानगरपालिकाको आह्वानमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स ९नाट्टा० लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रालि बुटवलले ४ वटा ट्रकको भाडा बराबर ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै मासु व्यवसायी संघ, रेडक्रस सोसाइटीलगायतका संस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बुटवलभित्रका संघसंस्थादेखि राहत दिन चाहनेहरुसँग समन्वय गर्नका लागि बुटवल उपमहानगरपालिकाले फोकल पर्सन तोकेको छ। विपद शाखाका प्रमुख योगेश चापागाईसँग सम्पर्क गरी राहत तथा नगद उपमहानगरपालिकामा जम्मा गर्न सकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बताए। उनले प्रभावितलाई पठाउने राहत प्रभावितसम्म पुग्ने व्यवस्था मिलाउनका लागि नगर प्रहरी र थप कर्मचारी खटाइने तथा आवश्यकताअनुसार संघसंस्थाहरुसँग समन्वय गर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!