भैरहवा । शुक्रबार राती गएकाे भू-कम्पको कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२८ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन्।
शस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ।
यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरीका बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको उनले बताए। भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन्।
रोल्पामा मानवीय क्षति भएको छैन। भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोटमा खटिएको छ। यस्तै नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ। थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ।
बाँकेस्थित नं। ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ। यस्तै नेपाल एपीएफ अस्पताल बलम्बुबाट डा। रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६।४ रेक्टरस्केलको भूकम्प गएको थियो।
उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेकाे छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक, स्वास्थ्यकर्मी लिएर अर्को हेलिकप्टर जाजरकोट र रुकुम पश्चिम प्रभावित क्षेत्रमा उडिसकेको बताए । त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलतर्फ उड्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगेका छन् ।
त्यस्तै कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि बोकेर एक हेलिकप्टर पठाएको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए । ‘कर्णाली सरकारले उद्धार, उपचार र राहतमा हवाई र स्थलतरुपमा निरन्तर काम गर्न सुरु गरेको छ,’ उनले भने । त्यस्तै सरकारले घाइतको उपचारका लागि चौरजहारी अस्पताल र विमानस्थललाई फोकल स्थल बनाई काम गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीलेभरिएका छन् ।मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ ।
अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताइन् ।उनका अनुसार राति १२ बजेदेखि बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ । नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उनको भनाइ छ ।
