भैरहवा । रुपन्देही प्रहरीले विभिन्न बैंक तथा सहकारीमा भएका चोरीको घटनामा संलग्न रहेको आरोपमा ३ भारतीय नागरिकसहित विभिन्न मुद्दामा १० जनालाई पक्राउ गरेको छ । उनीहरुले चोरी गर्दै क्यासिनोमा जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यसरी पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको गोरखपुर घर बताउने प्रचन्ड विक्की ठाकुर भन्ने आकाश सिंह, सोनु भन्ने जितेन्द्र यादव र अरविन्द भन्ने विष्णु साहनी रहेका छन् । उनीहरुलाई रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुले असोज १७ को राति तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित कामना बहुउद्देश्यीय सहकारी संस्थाको ३ लाख ५७ हजार ६ सय रुपैयाँ र सीसी क्यामेराको ब्याकअप, सांग्रीला डेभलपमेन्ट बैंकको शाखाबाट प्रबन्धकले प्रयोग गर्ने ल्यापटप‚ सीसी क्यामराको ब्याकअप र खुकुरी चोरी गरेका थिए ।
वैशाख ९, जेठ २ र असार ११ र २३ मा सिद्धार्थनगर नगरपालिकामा पनि उनीहरूले चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरु जुवाका लती हुन् । क्यासिनोको लत लागेका उनीहरु नेपाल छिरेर रुपन्देहीका विभिन्न क्षेत्रमा चोरी गरेर रकम जम्मा गर्ने र क्यासिनोमा जाने गरेका थिए । सिद्धार्थनगर नगरपालिकामा रहेको एक क्यासिनो बाहिर शंकास्पद अवस्थामा रहेका उनीहरुलाई प्रहरीले कात्तिक ४ मा पक्राउ गरेको हो ।
५।६ जनाको समूहमा रहेकामध्ये ३ जनालाई प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाहरुले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूहरु लामो समयदेखि चोरी गर्ने र क्यासिनोमा जाने गरेको बताएका छन् । यस्तै विभिन्न चोरीका घटनामा संलग्न अन्य ७ जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
दसैंको मौकामा बुटवलका विभिन्न स्थानमा चोरी तथा डकैतीमा संलग्नलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी सार्वजनिक गरेको हो । यस्तै, मोटरसाईकल चोरीमा संग्लन रहेका गुल्मी मालिका गाउपालिका ३ बस्ने बर्ष १९ को सोनु खड्का र बुटवल उप–महानगरपालिका ३ बस्ने बर्ष १८ को कृष्ण क्षेत्री पक्राउ परेका हुन । असोज १८ गते बुटवल उप–महानगरपालिका(३ सिद्धबावा मन्दिर नजिकै पार्किङ गरी राखेको शिशिर खनालको लु ९३ प ७०१० नं।को मोटरसाईकल चोरी भएको थियो ।
असोज १९ गते गते साँझ जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका(३ बमघाट स्थितमा सोनु खड्का र कृष्ण क्षेत्रीले उक्त चोरी भएको लु ९३ प ७०१० नम्बरको मोटरसाइकल चलाउदै गरेको अबस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र गोलपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै बुटवल ११ देविनगरस्थित ईन्द्र बहादुर खत्रीको डेरा कोठाबाट सुनको औठी तथा कानमा लगाउने टप चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही बुटवल–११ बस्ने बर्ष १९ की अंशिका पल्ली मगरलाई बुटवल ११ देबीनगरबाट चोरी गरेको सुन र नगद फेला पारी चोरी कसुरमा मुद्दा गरी जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको छ ।
यस्तै कार्तिक ०७ गते बिहान तिलोत्तमा नगरपालिका(२ जानकी नगर स्थित गंगा बहादुर कुँवरको घर कोठामा प्रवेश गरी नगद रु ६० हजार र आधा तोला सुनको तिलहरी चोरी गरेको भारत दार्जिलिङ घर बताउने वर्ष ४२ को कमल थापालाई चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
यस्तै कार्तिक १० गते बुटवल-९ नयाँ बसपार्कस्थित गस्तीमा खटिएका प्रहरी टोलिले शंकास्पद अवस्थामा दौडी रहेका व्यक्तिहरुलाई रोकी सोधपुछ ती व्यक्तिहरुले तामाका भाडा र नगद ५ हजार चोरी गरी भाग्दै अवस्थामा पक्राउ गरी कारवाही अगाडि बढाएको छ । पक्राउ पर्नेहरुमा बुटवल–४ बस्ने बर्ष १८ को अबिषेक थापा , पाल्पा, तानसेन नगरपालिका वडा नं-४ बस्ने बर्ष २० को सन्तोष थापा, वर्ष १८ को सिद्धार्थ जंग लामा भन्ने सन्देश नेपाली, रहेका छन् ।
यस्तै कार्तिक ११ गते बुटवल उप–महानगरपालिका वडा नं। ११ बुद्धनगरस्थित हेमन्त सुनारको कोठाभित्र खाटको सिरानीमा राखेको मोवाईल थान–२ र नगद रु ५ हजार चोरी गर्ने व्यक्ति प्रक्राउ गरेको छ । बुटवल ११ बस्ने बर्ष १८ को सुमित परियारलाई शरीर खानतलासी लिने क्रममा निजको साथवाट चोरी भएको मोवाईल थान–२ र नगद ५ हजार फेला पारी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवले जनाएको हो ।
यस्तै कार्तिक ८ गते लागू औषधसहित तिलोत्तमा नगरपालिका वडा नं ९ मंगलापुरस्थित सिद्धार्थ राजमार्गको मुख्य सडक खण्डको पुर्व सर्भिस लेनमा सवारी दुर्घटना भएको भन्ने सुचना आधारमा जाँदा लु ५८ प ४१९५ नम्बरको मोटरसाईकल दुर्घटना भएको अवस्थामा सोहि स्थानमा मोटरसाईकल चालक सोधपुछ गर्दा जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नं ९ घर बताउने वर्ष २४ को स्वस्तिक भक्त भण्डारीलाई खान तलासी लिदा निजको दाया खुट्टाको घुडामा सेतो प्लाष्टिकको टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध सेरिज्याक २ एमएल दरको २२ एम्पुल्स, फेनारागन २ एमएल दरको २१ एम्पुल्स र तालाजेसिक २ एमएल दरको २६ एम्पुल्ससहित फेला पारी थप अनुसन्धान भई रहेकोे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दान बहादुर थापाले जानकारी दिए ।
