मंगलबार प्रधामन्त्रीसहित गुटेरेसकाे लुम्बिनी भ्रमण

भैरहवा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनी भ्रमण मंगलबार विहान करिब ८ बजे हुने भएकाे छ । लुम्बिनी विकास कोषले महासचिव गुटरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र पारेको छ । आइतबार कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आवश्यक सुरक्षा प्रबन्धबारे छलफल गरेको छ । बैठकमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित, नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीसहित कोषका पदाधिकारीको उपस्थिति थियो ।

महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने उपाध्यक्ष लामाले बताए । ‘महासचिव आउनु नै हाम्रो लागि गौरवको बिषय हो, गुटरेसको भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’, उनले भने । महासचिवलाई बुद्धजन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा. लामाले बताए । लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै यो भ्रमणले लुम्बिनीको विकास र सम्बद्र्धनमा थप टेवा पुग्ने विश्वास गरेको उपाध्यक्ष लामाको भनाइ छ ।

‘प्रधानमन्त्री ज्यूको निमन्त्रणामा नेपाल आउनुभएका महासचिवको लुम्बिनी भ्रमण हाम्रा लागि मात्रै नभई नेपालकै लागि गौरव हो, उहाँले यहाँबाट विश्व शान्तिका लागि सन्देश पनि दिनुहुनेछ’, उपाध्यक्ष डा. लामाले भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत बिशेष अनुरोध गरेकाले महासचिव गुटरेससँगै लुम्बिनी आउने गरी कार्यक्रम तय भएको जानकारी दिए ।

गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुद हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । उनले नेपालले ऊ थान्तको समयमा संयुक्त राष्ट्र संंघको पहलमा शुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनस्मरण गराइने बताए ।

बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए । कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मंगलबार १४ गते महासचिव गुटरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।

उनका अनुसार महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सरकारी उच्चस्तरी अधिकारीहरुले स्वागत गर्नेछन् । महासचिव गुटरेस मंगलबार बिहान ८ः ३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८ः ५० बजे लुम्बिनीमा आइपुग्नेछन् । गुटरेसलाई हेलिप्याडबाट गाडीबाट चारनम्बर गेट हुँदै शान्तिदीपमा लगिनेछ ।

कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्मस्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि पिपलको रुखमुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीमा डेढ घन्टा बिताएपछि १०ः३० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।

नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ । महासचिवको भ्रमणलाई लिएर कोषले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको योजना प्रमुुख सरोज भट्टराईले बताए । उनले सरसफाई, स्वागत सत्कार र अन्य आवश्यक कामहरु तयारी अवस्थामा रहेको बताए ।

कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । उनले भ्रमण लुम्बिनीका लागि अवसर र गौरव भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । यसअघि कोषले स्थानीय नगरपालिकासहित सरोकारवालाहरुसँग तयारी बैठक गरेर भ्रमणलाई ऐतिहासिक बनाउनेबारे छलफल गरेको थियो ।

संयुक्त राष्ट्र संघका महासचिवको रुपमा गुटेरेसको लुम्बिनी भ्रमण छैटौं हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!