संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, लुम्बिनीमा रातारात तयारी

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आएका छन् ।राति एक बजे उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे । भ्रमणको पहिलो दिन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ  ।भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लुम्बिनीमा तयारी रातारात

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ। लामो समयदेखि अलपत्र रहेका लुम्बिनी विकास कोषभित्रका सडक हतारहतार कालोपत्रे गर्न थालिएको छ। महासचिव गुटेरेसको भ्रमणतालिका सार्वजनिक भएसँगै रातभर सडक पिच गर्न थालिएको हो।

विजयादशमीअगाडिसम्म लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले सडक निर्माणलगायतका पूर्वाधारका काम छिटो सम्पन्न गर्न पटकपटक ताकेता गरेका थिए। तर, काम हुन सकेको थिएन। अहिले निर्माण व्यवसायीहरू धमाधम काम गरिरहेका छन्।

महासचिव गुटेरेसलाई लुम्बिनीको मायादेवी मन्दिरसम्म पुग्ने बाटो सफाइदेखि लिएर ६ सय ५० मिटर सडक पिच गर्न लागिएको छ। लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोषको चार नम्बर गेटदेखि शान्तिदीपसम्म पुग्ने ६ सय पचारमिटर सडक पिच गर्न लागिएको बताए। त्यसैगरी, पाँच नम्बर गेटको निमार्णाधीन गेटको काम पनि सम्पन्न गर्ने तयारीमा रहेको योजना प्रमुख भट्टराईले बताए।

महासचिव गुटेरेसलाई चार नम्बर गेटबाट प्रवेश गराएर शान्तिदीप हुँदै मायादेवी मन्दिर लैजाने र पाँच नम्बर गेटबाट बाहिरिने गरी भ्रमणको तालिका रहेको भट्टराईले बताए।

नेपालको चारदिने भ्रमणका क्रममा १४ कात्तिक बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी सुरु गरेको हो। कोषले शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणीसहित सरोकारवालाहरूसँग बैठक गरी महासचिव गुटेरेसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल गरेको थियो। महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा १२ कात्तिक (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेरेसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे। महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने बताए। महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सँगै  लिएर आउनेछन्।

१४ गते बिहान ८ः३५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र त्यहाँबाट हेलिकोप्टरमा सीधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम बनेको छ। महासचिव गुटेरेसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदीप हुँदै मायादेवी मन्दिरसम्म जाने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!