आज महानवमी, हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । आज हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदैछ । नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ ।

दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

पशुबली नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा घिरौंला, कुभिण्डो, मुला, काँक्रो र जटा नरिवलसमेत बली दिइ पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज कुखुरा, हाँस, बोका, भेडा र राँगाको पञ्चबली पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यसअवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!