भैरहवा । सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित ३ भारतियलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डामा अवस्थित स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेकजाँच टोलीले आइतबार राती ९ बजे चेकजाँच गर्ने क्रममा १२ लाख भारतिय रुपैया सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नेपाल तर्फ आउदै गरेको अवस्थामा गाडीमा सवार सुनौली ग्राम पंचायत वडा नं. २० सुनौली का ३८ वर्षिय राजु कौशल, जिल्ला गोरखपुर, हमायुपुर दक्षिण गोरखपुर का ४० वर्षिय अभिनव जैसवाल र सोही स्थान बस्ने ३४ वर्षिय आस्तिक त्रिपाठीको साथ स्रोत नखुलेको भारतीय नगद बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिए ।
भारतिया युवाहरु सहित भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० नम्बरको होटल लाकौलको भ्यान र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको नान्स होटलको भ्यानमा सवार उनीहरूको साथमा रहेको ५ सय दरका भारतीय रुपैयाँ बरामद गरिएको थियो, बरामद रुपैयाको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बलले रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार नेपाल आउदै गरेका भारतियहरु क्यासिनो जाने योजना बनाएर भारतबाट आएका थिए, बेलहिया नाकामा सिमावर्ती क्षेत्रमा संचालित क्यासिनोहरुले पिक एण्ड ड्रप सेवा सहित भ्यान संचालन गरेकोले सोही भ्यानमा उनीहरु सवार भई आउदै थिए ।
बेलहियाबाट होटल सम्म ल्याउने र लैजाने जिम्मा पाएको ति भ्यानहरु अधिकांस चेकिङ्ग प्वाइन्टमा विना रोकावट आउने जाने गरेका थिए, विशेष सूचनाको आधारमा ति गाडीहरु आइतबार राती रोकि चेकजाँच गरिएको थियो । पक्राउ परेका तीनै जना र बरामद रकम आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।
नेपाल राष्ट्र बैंकले सय रूपैयाँभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । नेपालमा ५ सयको भारतिय नोट आधिकारिक रुपमा प्रचलनमा नभएपनि क्यासिनोहरुमा ति भारतिय नोट नियमित आउने गरेको छ । भारतिय पर्यटकहरुले २५ हजार रुपैया सम्म ल्याउन पाउने व्यवस्था रहेपनि पर्यटन भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित भएको भन्दै व्यवसायीहरुले यो रकम कम भएको र भारतिय पर्यटक खर्चिलो भएकोले यो व्यवस्था पुर्नावलोकन गर्नुपर्ने माग गर्दै आएका छन ।
राष्ट्र बैंकको विदेशी विनिमय ऐनमै एक सयभन्दा माथिको भारतीय रकम २५ हजारसम्म मात्रा ल्याउन मिल्ने कानुनी अडचनका कारण नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल घुम्न आएका भारतीयलाई समस्या भएको पर्यटन व्यवसायीहरुले भन्दै आएका छन । रुपन्देहीमा करिब आधा दर्जन होटलमा क्यासिनो संचालनमा रहेको छ ।
