थारू समुदायले आज अटवारी पर्व मनाउँदै, दर खाने दिन

भैरहवा । पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् ।

पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै, अटवारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ ।

परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारू समुदायमा छ ।

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लाका थारू समुदायलाई आइतवार (आज) सार्वजनिक बिदा दिएकाे छ । विगतमा थारू बाहुल्यता रहेका पालिकाले बिदा दिने गरे पनि अहिले प्रदेश सरकारले नै पर्व मनाउन बिदा दिएकाे हाे ।

दर खाने दिन

आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ ।

भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।  दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।

धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले  त्यस्ता खानेकुरा सकेसम्म नखान पोषणविद् समीक्षा कार्कीले सुझाव दिनुभएको छ ।

दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान  र दरसँग जाँडरक्सी नखान उहाँले आग्रह गर्नुभएको छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

अझ मधुमेहका बिरामीले यस्ता खानेकुरा खाँदा झनै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । पहिले मानिसहरुले धेरै परिश्रम गर्ने भएकाले चिल्लो, गुलियो धेरै खाँदा पनि त्यति स्वास्थ्य समस्या नहुने भए पनि  अहिले मानिसहरुले शारीरिक परिश्रम कम गर्दा र त्यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तने गरेको उहाँको भनाइ छ ।

भोलिपल्ट बस्ने व्रतका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने निहुँमा त्यसले थप जटिलता नल्याओस् भन्नेमा सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!