भैरहवा । प्रथम फ्युचर लाइट फुटबल कपको उपाधि आयोजक विद्यालयकै टिमले जितेको छ । ५९ औँ बाल दिवसको अवसरमा शुक्रबारबाट भएको अन्तर विद्यालय नक आउट फुटवलको उपाधि पेनाल्टी सुटबाट मिनर्वा स्कुललाई पराजित गर्दै फ्युचर लाइट इंग्लिस हाई स्कुलले जितेको हो ।
फ्युचर लाइट इंग्लिस हाई स्कुलको आयोजनामा कृषि क्याम्पसको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा ४ गोल गर्दै आयोजक टिमले उपाधि जितेको हो । जितसँगै फ्युचर लाइटले नगद १५ हजार रुपैयाँ र उपविजेता मिनर्वाले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनल खेलमा फ्युचरलाईट हाई स्कूलले काशि नोवेल एकेडेमी भैरहवालाई १–० ले हराउदै फाइनलमा प्रवेश गरेको थियो भने मिनर्वा हाइ स्कूलले लर्डबुद्ध ई. स्कूललाई १–० ले हराउदै फाइनलमा प्रवेश गरेको थियो ।
५० मिनेटको फाइनल खेलमा दुवै टिमले गोल गर्न नसकेपछि बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । जसमा फ्युचर लाइटले ४ गोल गरेको थियो भने मिनर्वा हाइ स्कुलले ३ गोल मात्र गर्न सफल भई उपविजेता बन्यो ।
यस क्षेत्रका ८ विद्यालय सम्मिलत प्रतियोगिता पहिलो पटक फ्युचर लाइटले अन्तरविद्यालय सवचको प्रतिस्पर्धा मार्फत गरेको विद्यालयका प्राचार्य गम्भिर गुरुङले भने । पढाई मात्रै नभई अन्तरनिहित प्रतिभाहरुलाई प्रस्फुटन गराउन विद्यालयमा मात्रै सिमित नभई अन्य विद्यालयसँग पनि प्रतिस्पर्धा होस भन्ने उद्देश्यले बाल दिवसकै अवसर पारेर प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताकै अवसर फुटबलमा योग्दान गरेका पूर्व खेलाडी र प्रशिक्षकहरु चन्द्र बहादुर गुरुङ, बुद्दी थापा, तेज बहादुर गुरुङ, दुर्गा बहादुर विक, धन बहादुर मल्ल अशोक गुरुङ, थमन जिसी, धन बहादुर बास्फोर, विर बहादुर विक, किसन थापा र जित बहादुर रानालाई सम्मान गरिएको थियो ।
विजयी टिम एवं खेलाडीहरुलाई अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी, एन्फा नवलपरासीका अध्यक्ष धन प्रसाद गुरुङ, प्याबसन नेपालका उपाध्यक्ष विष्णु प्रसाद पन्थी लागयतले पुरस्कार वितरण गरे ।


