भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी साधनका नम्बर प्लेट सुधार अभियानलाई तिब्रता दिएको छ ।
सवारीका नम्बर प्लेटमा अनावश्यक चित्र राख्ने, नम्बर नै नदेखिने गरी नम्बर लेख्ने र खुईलिएका अंक भएका सवारीहरु सडकमा प्रशस्त देखिन थालेपछि यसले निम्याउने जोखिम न्युनिकरणका लागि यो अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका ईन्चार्ज प्रहरी निरीक्षक बजिर सिंह बिष्टले जानकारी दिए ।
पहिलो चरणमा एकहत्ते अभियान अन्तर्गत सवारी चालकलाई नम्बर प्लेट सुधारका लागि सम्झाई बुझाई छाडिएको उनको भनाई छ । नम्बर प्लेट स्पष्ट नदेखिंदा सडकमा दुर्घटना गराएर सवारी भाग्ने र ट्राफिकलाई सवारी पहिचान तथा कारवाहीका लागि समेत कठिनाई हुने गरेकोले अभियान संचालन गरिएको भर्खरै मात्र रुपन्देही आएका प्रहरी निरीक्षक विष्टले बताए ।
“पहिला सम्झाउंछौं त्यसपछि पनि सुधार नगरे ५ सय देखि १ हजार ५ सय सम्म जरिवाना लिईने उनले बताए ।” एकहप्ते अभिान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका अन्य विटसहित करीब १५ सय सवारी चालकलाई परामर्श दिईएको उनले जानकारी दिए । केही दिन अघि मात्र ईन्चार्जको जिम्मेकवारी सम्हाल्दै प्रहरी निरीक्षक विष्टले जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न कुनै कसर बांकी नराख्ने बताएका थिए ।

