सम्झना शर्मा
भैरहवा, भैरहवा भन्सार कार्यालय तस्करहरुको मुख्य नाका बन्दै गईरहेको तथ्यले देखाएको छ । आईतबार राति औषधिको कच्चा पदार्थ बोकेको ट्रकभित्र अबैध कपडा फेला परेपछि यसको पछिल्लो तथ्य पुष्टी भएको हो ।
भारतबाट नेपालका लागि औषधिको कच्चा पदार्थ लिएर भैरहवा भन्सार गेटबाट प्रवेश गरेको डिएल १ जिसि ४४४६ नम्बरको ट्रकभित्र जांचपास गर्ने क्रममा अबैध कपडाका पोका भेटिएकोले थप अनुसन्धानका लागि ट्रकलाई नियन्त्रणमा लिईएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए ।
उनका अनुसार घटनामा सम्लग्न भएको आशंकामा एक जना भन्सार एजेन्ट सहित दुईजनालाई पक्राउ गरिएको छ । उक्त ट्रकभित्र रहेका कपडाका पोकामा रक्सौल नाका कोड गरिएकोले सामान काडमाडौं आसपासको हुनसक्ने भन्सार कार्यालयले आकलन गरेको छ । तर पनि रक्सौलबाट जानुपर्ने ट्रक भैरहवा भन्सार हुदै प्रवेश गर्नुले भित्रकै केही व्यतिको सेटिङ्गमा यहांबाट ट्रकका ट्रक सामान तस्करी भईरहेको छ भन्ने पुष्टी भएको छ ।
आईतबार वेलुका भन्सार गेटबाट प्रवेश गरेको ट्रकभित्र तोकिए भन्दा फरक सामान रहेको भन्ने गोप्य सुचनाको आधारमा निगरानीमा राखिएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाई छ । राति साढे १० बजे सामानको प्रकृति चेकजांच गर्ने क्रममा पोका खोल्न आलटाल गरेपछि सोमबार विहानै चेकजांच गर्ने भनि कर्मचारी घर लागे ।
यही मौका छोपी ट्रकभित्र रहेका १९ वटा पोका रातारात अर्को ट्रकमा स्तानान्तरण गरेको पाईएपछि सोमबार विहानै भन्सारभित्र हल्लीखल्ली चल्यो । खोज्दै जांदा ट्रकभित्र रहेका कपडाका १९ वटा पोका युपि ८४ टी ५३४७ नम्बरको ट्रकमा फेला परेकाले दुवै ट्रकलाई नियन्त्रणमा लिईएको पौडेलले जानकारी दिए । भैरहवा भन्सारमा यस अघिपनि नक्कली प्रज्ञापन बनाएर भन्सार पास गर्ने क्रममा ट्रक सहित अबैध माछा नियन्त्रणमा लिईएको थियो । लगतै प्याजको ट्रकभित्र करीब २ करोड बढीको अवैध कपडा नियन्त्रणमा लिएको थियो ।
यि दुवै घटनामा सम्लग्न १३ जनालाई अनुसन्धान पश्चात कारवाही गरिएको छ । जसमध्ये ४ जना धरौटीमा रिहा भएका छन् भने नौं जना रकम जम्मा गर्न नसक्दा थुना मै छन् । थप तिन जनालाई पक्राउ पुर्जि जारी गरिएपनि फरार छन् ।
भन्सारबाटै ट्रकमा अबैध सामान पास गराउने नेपालकै एक नामुद तस्कर रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख पौडेलले दावी गरे ।
जसको सम्लग्नता अघिल्ला घटनामा पनि देखिएको छ । ती तस्करको विवरण सहित सिआईवीलाई अनुसन्धानका लागि पठाईएको उनले बताए । यसमा ठुलो गिरोहको संलग्नता रहेकोले यसलाई संगठित अपराधमा मुद्धा दर्ता गरेर सिआईवीलाई अनुसन्धानका लागि जिम्मा दिने तयारी रहेको पौडेलले जानकारी दिए ।
”उनले भने यो सामान तस्करीको मात्र कुरा होईन यति ठुलो परिमाणमा अबैध ल्याईने सामानको भुक्तानी कुन प्रक्रियाबाट बाहिर गईरहेको छ यसको पनि अनुसन्धान जरुरी छ । ” भन्सारका कर्मचारी वा अन्य सम्बन्धित व्यतिहरुका विषयमा पनि मोवाईल कल डिटल देखि सिसि टिभी क्यामेराका गतिविधिमा गहिरो अनुसन्धान सुरु गरिएको उनको भनाई छ । उनले भने सन् २००२ देखि यहां विभिन्न सेक्टरमा काम गरिरहेका पुराना कर्मचारी छन् यसमा सेटिङ्ग नहोला भन्न सकिदैन् हामी शुक्ष्म अनुसन्धानमा छौं ।
अर्कोतर्फ शसस्त्र प्रहरी वल गुल्म डण्डाले मात्र चार महिनाको अवधिमा चार करोड बढीको अबैध सामान नियन्त्रणमा लिएको तथ्यले पनि भैरहवा भन्सार तस्करको रोजाई बनेको पुष्टी गरेको छ ।
किन बढ्यो त तस्करी ?
नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णय दोस्रो मुलुकबाट व्यापार गर्ने जुनसुकै कम्पनीले अनिवार्य एलसी खोल्नु पर्ने भएपछि झन्झटिलो प्रक्रिया भन्दै साना व्यापारीहरुले तस्करको सहारा लिएको भन्सार प्रमुखको तर्क छ । देशमा कपडाको माग बढ्दो र वैधानिक आयात झन्झटिलो भएकोले तस्करले स्पेश पाए उनले भने ।
खुल्ला नाका कारण भन्सारमा चोरी तस्करी बढेको र नेपाली बजार सुकेको भन्दै सर्वसाधारणलाई १ सय रुपैंयामाथिको सामानको भन्सार शुल्क लिईने गरेको छ । यसरी सर्वसाधारणलाई कडाई गरिएको भन्सारमा बारम्बार अबैध ट्रकभरी सामान पास गराउंदा यहांका सर्वसाधारणमा आक्रोस देखिन्छ ।
