भैरहवा, साउन ८
भैरहवास्थित भीम अस्पतालमा कार्यरत चिकित्सक डा. रवि प्रकाश शुक्ला तथा असई सुशील कँडेललाई एक विशेष कार्यक्रमका बीच सम्मानसहित बिदाइ गरिएको छ।
अस्पतालको आपत्कालीन (इमरजेन्सी) विभागका निमित्त प्रमुख शशिकान्त उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले स्वास्थ्य र सुरक्षा क्षेत्र राष्ट्रका दुई महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्नुभयो। उहाँले डा. शुक्ला र असई कँडेलले आफ्नो कार्यकालमा प्रदान गरेको समर्पित सेवाको प्रशंसा गर्दै यस्ता सेवाभावी व्यक्तित्वहरू समाजका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो।
कार्यक्रमका संयोजक सुरज उपाध्यायले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन रविकान्त उपाध्यायले गर्नुभएको थियो।
उक्त कार्यक्रममा भीम अस्पतालका अध्यक्ष डा. अनन्तकुमार शर्मा, पूर्वअध्यक्ष आनन्दप्रसाद गुप्तालगायत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
