भैरहवा, ६ वैशाख
भैरहवा /सिद्धार्थ क्रिकेट रंगशालामा यही वैशाख ८ गतेदेखि १५ गतेसम्म खुकुरी टी–२० कप २०८३ (क्रिकेट प्रतियोगिता)हुने भएको छ ।
लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता हुने भएको हो ।
टी–२० क्रिकेट कप प्रतियोगिताबारे आयोजकले आइतबार बेलहियामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष महेश थापाले प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहने जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार १६ मध्ये तीनवटा भारतीय टीमकोसमेत सहभागीता रहनेछ ।
प्रतियोगिताका संयोजक तथा क्लबका सह–सचिव नन्दन श्रेष्ठले आगामी दिनमा अझ सशक्त ढंगबाट क्रिकेटको विकासका लागि नयाँ प्रस्तुत गर्ने गरी प्रतियोगिता हुन गइरहेको बताउनुभयो ।
प्रतियोगिताको प्रथम विजेतालाई रु. १ लाख ११ हजार १ सय ११, उपविजेतालाई रु. ५५ हजार ५ सय ५५, म्यान अफ द सिरिजलाई रु. १५ हजार, बेष्ट बलर र बेष्ट ब्याटस्म्यानलाई रु. ५ हजार ५ सय ५५ र प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १ हजार ५ सय प्रदान गरिने नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य धर्मराज गिरीले जानकारी दिनुभयो।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नंबर-१ का वडाअध्यक्ष उज्जवल पोखरेलले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न रकम आवश्यक भएको कुरालाई मध्यनजर गरी क्लबले आयोजना गरेको यो प्रतियोगिताका लागि वडा कार्यालयबाट पाँचलाख रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले लुम्बिनी खुकुरी क्लबले धेरै खेलाडी उत्पादन गर्न सफल भएको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको सहयोग र रुपन्देही क्रिकेट संघको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने लुम्बिनी खुकुरी क्लबका सचिव ओजश शर्माले जानकारी दिनुभयो ।
वि.सं. २०२७ सालमा स्थापना भएको लुम्बिनी खुकुरी क्लबले आफ्नो स्थापनाकालदेखि नै विभिन्न खेलकुद, सामाजिक सचेतना र विकास सम्बन्धी कार्यहरु गर्दै आएको सल्लाहकार देवराज न्यौपानेले बताउनुभयो ।
