भैरहवा/ नेपाल र भारतका सञ्चारकर्मीबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले शनिबार तेस्रो भारत–नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ ।
लुम्बिनी प्रेस क्लब र भारतको नौतनवामा रहेको प्रेस क्लब अफ महाराजगंज बीच मैत्रीपूर्ण क्रिकेट स्पर्धा हुन लागेको हो । शुक्रबार प्रेस क्लब अफ महाराजगंजले नौतनवामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर मैत्रीपूर्ण प्रतिस्पर्धा शनिबार बिहान ८ बजेदेखि नौतनवामा क्रिकेट हुने जानकारी दिइएको हो ।
उक्त खेलका लागि दुवै प्रेस क्लबका टिम तयारी अवस्थामा रहेको जनाइएको थियो । प्रेस क्लब अफ महाराजगंजका अध्यक्ष अमित त्रिपाठीले लामो समयदेखि दुबै मुलुकका प्रेस क्लबबीच रहेको सुमधुर सम्बन्ध थप मजबुत तुल्याउन खेल आयोजना गरिएको जनाए । त्रिपाठीले खेलकुदका माध्यमबाट दुई मुलुकका पत्रकारबीच भाइचारा बढ्ने विश्वास व्यक्त गरे ।खेलले पत्रकारबीचको सम्बन्ध मात्र नभएर नेपाल र भारतबीच सदियौँदेखि चलिआएको ‘रोटी–बेटी’ को ऐतिहासिक सम्बन्धलाई समेत थप मजबुत बनाउनेछ उनले भने त्यसैले प्रत्येक वर्ष निरन्तरता दिँदै आएका छौं ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दुई देशका सञ्चारकर्मीबीचको सहकार्य र मित्रताका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताए । महाराजगंजको खेल पश्चात् छिट्टै नेपालमा पनि दुई क्लबबीच यस्तै मैत्रीपूर्ण खेल आयोजना गरिने उनले प्रतिबद्धता जनाए । आयोजित पत्रकार सम्मेलनमा उक्त स्पर्धाको ट्रफी सार्वजनिक गरिएको थियो ।
