भैरहवा,असोज ५ । लुम्बिनी प्रेस क्लब र सिद्धार्थ जेसिसबीच मैत्रीपुर्ण फुटसल खेल भैरहवामा शनिवार सम्पन्न भएको छ । विश्व शान्ति दिवसको अवसरमा जेसिआई सिद्धार्थ नेपालले आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा लुम्बिनी प्रेस क्लबलाई पराजित गर्दै जेसीआई सिद्धार्थ नेपाल विजयी भएको हो । सिद्धार्थनगर नगरपालिका–१३ स्थित फुटसल मैदानमा भएको खेलमा जेसीआई सिद्धार्थले प्रेस क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको कार्यक्रम संयोजक आकाश पौडेलले जानकारी दिए ।
जेसीजको जितमा दीपेन्द्रमान श्रेष्ठ एक्लैले ५ गोल गरे । यस्तै, अर्जुन कुँवरले १ गोल गरे । लुम्बिनी प्रेस क्लबका लागि विशन गुरुङले १ गोल गरे । ३० मिनेटको खेलमा सुरुवातीमा जेसीआईले गोल गर्दै अग्रता लिएको थियो । खेल निकै प्रतिस्पर्धात्मक भए पनि राम्रा अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा प्रेस क्लब पराजित भयो ।
खेलको माध्यमबाट दुई संस्थाबीचको भावनात्मक सम्वन्ध अझ बलियो बनाउने उदेश्यले मैत्रीपुर्ण खेलको आयोजना गरिएको आयोजक संस्था सिद्धार्थ जेसिसका वर्ष २०२३। ०२४ का अध्यक्ष दिपक काफ्लेले बताए ।

विजेता र उपविजेता टिमका खेलाडीहरुलाई सिद्धार्थनगर–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठ, जेसीआई सिद्धार्थका अध्यक्ष दीपक काफ्ले, कार्यक्रम संयोजक आकाश पौडेल लगायतले ट्रफी र मेडल प्रदान गरेका थिए ।
खेलअघि मैत्रीपूर्ण फुटसलको उद्घाटन गर्दै लुम्बिनी प्रेस क्बलका अध्यक्ष सम्झना शर्माले दुई संस्थाबीचको सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रमले थप मद्दत पुग्ने जनाइन् । उनले स्वास्थ्यका लागि पनि खेलकुद जरुरी रहेको जनाउँदै आगामी दिनमा पनि दुई संस्थाबीच सहकार्य गरी कार्यक्रम गरिने बताइन् ।
खेलको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले दैनिकी व्यस्त जीवनबाट केही समय छुट्याएर खेलकुदमा पनि ध्यान दिनुपर्ने बताए । उनले नगरपालिकाले अन्य क्षेत्रसँगै खेलकुदलाई पनि प्राथमिकता राखेर काम गरिरहेको बताए । पत्रकार र जेसीजबीचको मैत्रीपूर्ण खेलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनले विश्वास व्यक्त गरे ।
जेसीज अध्यक्ष काफ्लेले विगतदेखि नै प्रेस क्लबसँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्दै आएको जनाए । उनले यस्ता मैत्रीपूर्ण खेलले एकअर्काबीच भातृत्व विकास गर्न मद्दत पुग्ने बताए । आउँदा दिनमा पनि प्रेस क्लबसँगको सहकार्यमा यस किसिमका मैत्रीपूर्ण खेलहरु आयोजना गर्ने उनले बताए । कार्यक्रममा जेसिआई सिद्धार्थ लेडिका अध्यक्ष संगिता आचार्य, जेसीआई सिद्धार्थका पदाधिकारी, पूर्वअध्यक्षहरु, सदस्य लगायतको सहभागिता थियो ।

