भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ७ मा भएको वडा स्तरीय प्रथम टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि भैरहवा क्रिकेट क्लबले जितेको छ ।
सिद्धार्थनगर नगरपालिका ७ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा भैरहवा टोल सुधार समितिलाई ८ विकेटले हराउदै भैरहवा क्रिकेट क्लबले उपाधि जितेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबारको फाइनल खेलमा टस हारेर व्याटिङ पाएको समितिले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउदै ७७ रन जोड्न सकेको थियो । जसका लागि विजय अधिकारीले १९, कुशल धितालले १५ रनको योग्दान टिमलाई दिलाएपनि जित निकाल्न सकेनन । बलिङ तर्फ क्लबका भवर विक्रम शाही, अनुराग विक्रम शाहीले समान २–२ विकेट, मोहम्मद रफिक, सुशान्त नाउ र अक्षय रानाले १–१ विकेट लिए ।
७८ रनको झिनो लक्ष्य पाएको क्लबले १० ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पार गरि जित निकाल्यो । जसका लागि कप्तान मोहम्मद रफिकले अविजित ४२ रन, बैजनाथ सहानीले २९ रन र समिर पौडेलले ४ रनको योग्दान गरे । बलिङ तर्फ विनोद विश्वकर्माले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याचबाट क्लबका खेलाडी भवर विक्रम शाही घोसित भएको खेल संयोजक तथा वडासदस्य प्रविन राणाले जानकारी दिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट व्याटर क्लबका मोहम्मद रफिक भए भने उत्कृष्ट बलर अनुराग शाही भए । खेलका विजयी खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँ , १ नम्बरका वडाध्यक्ष उज्जवल पोखरेल , ४ नम्बरका वडाध्यक्ष मुक्तिनाथ यादव लगायतले पुरस्कृत गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी नगरप्रमुख खाँ ले प्रतिस्पर्धाका लागि मात्रै नभई खेल स्वास्थ्यका लागि अतिआवश्यक रहेको बताए, रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले नगरमा खेलको विकासका लागि स्थानीय स्तरबाट नै खेललाई महत्व दिदै प्रतियोगिताहरु हुदै आएको र निरन्तरता दिने बताए ।
स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले बताए । ५ टीमको सहभागीता रहेको प्रतियोगितामा जित सँगै विजेताले १५ हजार र उपविजेताले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
