भैरहवा । भैरहवामा पांच तारे होटल सिद्धार्थ विलासा औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपालको एक विशाल विजिनेश समूहको रुपमा परिचय बनाएको सिद्धार्थ ग्रुपले बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै होटलबारे जानकारी गराएको हो ।
भैरहवाको अञ्चलपुरमा सडकदेखी झण्डै २ सय मिटर पश्चिममा करीब ४ बिघा क्षेत्रफलमा फैलिएको सिद्धार्थ विलासा होटलमा एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरमा वर्गीकरण गरिएको गु्रपका अध्यक्ष चिन्तामणि न्यौपाने( लक्ष्मण)ले बताए ।
होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेण्ट तथा स्विमिङ पुल, फिटनेस, स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लंग टेनीस कोर्ट, गार्डेन, रहेको छ । होटलमा नेपालकै ठूलो सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुमका साथै क्यासिनो संचालन सुविधा होटलमा रहेको उनले बताए । होटलमा करिब साढे २ अर्व लगानी रहेको र ३ सय कर्मचारीले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने उनले बताए । होटल औपचारिक रुपमा बिहिबार देखि सन्चालनमा आए पनि उदघाटन भने असोज महिनामा मात्रै गरिने छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा हालै मात्र संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको यस अत्याधुनिक तथा सुविधा सम्पन्न होटलको नियमित सेवा संचालनमा आउदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवाले सिङ्गो देशकै पर्यटन तथा आतिथ्यसेवामा टेवा पुयाउन सक्ने विश्वास हामीले लिएका छौं ।’– अध्यक्ष न्यौपानेले भने ।
होटलमा अन्तरराष्ट्रिय स्तरका सबै सुविधा उपलब्ध रहेको गु्रपका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले जानकारी दिए । सिद्धार्थ गु्रपले अर्गानिक कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै विभिन्न पर्यटकीय गन्तब्यको खोजी समेत गरिरहेको न्यौपानेले बताए । “हामीले भैरहवाको पर्यटनसंग यहांका अन्य पर्यटकीय गन्तब्यहरु जस्तै पाल्पा,गुल्मीको रेसुङ्गा, रिडि, लगायतका धार्मीक पर्यटकीय क्षेत्रहरुलाई जोड्ने लक्ष्य लिएका छौं उनले भने, जसले पर्यटकको बसाई लम्ब्याउन सकिन्छ ।” देशमा आर्थिक संकट बढ्दै गईरहेको अवस्थामा सिद्धार्थ विलाशा संचालनले पर्यटन व्यवसायीहरुमा सकारात्मक उर्जा थप्ने होटलका म्यानेजर काशिराम अधिकारीले बताए । सिंगापुर, भेतनाम, म्यानमार लगायतका देशहरुमा हस्पिटालिटीको क्षेत्रमा लामो अनुभव रहेका म्यानेजर अधिकारीले संकटको विचमा सफल हुने संकल्प सहित चुनौतीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिए । यहांका अन्य तारे होटलहरुको असफलताका कारणलाई अध्ययन गरी त्यसबाट पाठ सिकेर अगाडि बढ्ने होटलका प्रबन्ध निर्देशक महेन्द्र न्यौपानेले बताए ।
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानीमा होटल, रेस्टुरेण्ट, रिसोर्ट, क्याफे, होटल म्यानेजमेन्ट, ुहस्पिटालिटी इन्स्टिच्युट, ट्रेडिङ्ग, कृषि उत्पादन, आइटी सेवा लगायतमा काम गरिरहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले व्यवसायीहरुको लगानीको सुरक्षा सरकारले गर्नुपर्ने बताए । लुिम्बनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले भैरहवा क्षेत्रमा तारे होटल संचालनमा आउनु यस क्षेत्रकै गौरव भएको बताउदै यसको प्रवद्र्धनमा संचार क्षेत्रले सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाईन् । लुम्बिनी प्रस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले होटल संचालनमा आइपर्ने अप्ठ्याराहरुमा पत्रकारलाई साथमा लिन आग्रह गरे । सिद्धार्थ गु्रपका संचालक युवराज कडेंलको संचालनमा सम्पन्न कार्यक्रममा पर्यटन प्रवद्धनका लागि नीजि क्षेत्रको लगानीको प्रवद्धन तथा संरक्षणका विषयमा पत्रकार र संचालकबीच छलफल भएको थियो ।
