राजश्व संकलनमा सुधार

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार आएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा (साउन देखि पौषसम्म) लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले पौष महिनामा विभागले दिएको १ अर्ब २३ करोडमा १ अर्ब ३ करोड संकलन गरेको बताए । यो लक्ष्यको ८४.४९ प्रतिशत हो। प्रमुख पोख्रेलका अनुसार यो गत आवको पौष महिनामा संकतिल राजस्वसँग तुलना गर्दा १३.४९ प्रतिशतले वृद्धि हो ।

यसैगरी, चालु आर्थिक वर्षको पौष महिनासम्मको लागि ६ अर्ब ३३ करोड संकलनको लक्ष्य राखेकोमा ५ अर्ब ५४ करोड अर्थात लक्ष्यको ८७.४३ प्रतिशत प्रतिशत संकलन भएको पोख्रेलले जानकारी दिए । पोख्रेलले गत वर्षको सोही अवधिमा संकलित राजस्व ४ अर्व ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको बताए ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्क वापत ३ अर्ब ७३ करोड संकलन गरेको छ ।
अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मू.अ.कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व संकलनमा वृद्धि देखिएको उनी बताउँछन् ।

साथै कार्यलयका अनुसार कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिएर आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा गर्ने जनाएको छ । सो बमोजिम आय विवरण र सो मा लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनु पर्ने छैन ।

आय विवरण बुझाउन बाँकी करदातालाई कार्यलयले विशेष छुटको व्यवस्था पनि गरेको कार्यलयले जनाएको छ । कार्यलयले स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा गर्ने जनाएको छ । ।

यसैगरी २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा गर्ने आन्तरीक राजस्व कार्यालय भैरहवा जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!