भैरहवा । लुम्बिनीमा बर्षोदेखि सटही हुन नसकेको ५४ लाख २९ हजार रुपैयाँ साटिएकाे छ । लुम्बिनी विकास कोषले दानवपात संकलित अपरिवर्तित देशहरुको रकम नेपाल राष्ट्र बैंक मार्फत सटही भएको हाे ।
लुम्बिनी विकास कोष र राष्ट्र बैंकविच गत चैत २२ गते भएको सम्झौता अनुसार चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई पठाइएकाे थियाे । कोषका पहलमा बर्षोदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तिय मुद्रा सटही भएको काेषले जानकारी दिएकाे छ ।
लुम्बिनी विकास कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश सहितका देशहरुको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआईएमबि बैंक सिंगापुर पठाइएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले लुम्बिनीमा विदेशीहरुले पवित्र भावनाले प्रदान गरेको दानरकम नसटिएर नभएर कागज बराबर भएकोमा पटक पटकको प्रयासपछि रकम सटही भएर आएको बताए । ‘यो हाम्रो लागि खुशीको कुरा हो, नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिन्छौं’ कोषाध्यक्ष भट्टराईले भने ।
नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकोमा सिंगापुर स्थित सिआईवि बैंकबाट राष्ट्र बैंकको खातामा ५४ लाख २९ हजार ७३१ रुपैयाँ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए ।
उनले केही मुद्रा पूरानो भएकाले सटही हुन नसकेको बताउँदै पठाइएका मध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताए । उनले सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाईने बताए । चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डे विच मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
