अहिलेको समय मेला महोत्सवको हो । रुपन्देहीको भैरहवामा २०६१ सालबाट महोत्सव आयोजना हुदै आएको छ । अहिले रुपन्देहीको तिलोत्तमा, सिद्धार्थनगर र सैनामैनामा महोत्सव हुदैछ । भैरहवाको अञ्चलपुरमा चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर १८ गतेसम्म छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) हुदैछ । सिद्धार्थनगर नगरपालिकाको सह–आयोजना नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको संरक्षकत्वमा मेला आयोजना भएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ हुने महोत्सवमा केन्द्रित भई मेला मूल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठसँग गरेको कुराकानीको सम्पदित अंश ।
भैरहवामा छैठौं पटक महोत्सव आयोजना भएको छ, कसरी हुदैछ ?
२०६३ सालमा संगठनले उद्योगी व्यवसायीहरुको हकहित र अधिकारको कार्य अगाडि बढाउँदै उद्योग, पर्यटन तथा कृषि सम्बन्धी नीति तथा कानुन निर्माणमा सरसल्लाह दिने रुपन्देही जिल्लामा संगठनले उद्योग, व्यापार कृषि र पर्यटनको प्रवर्द्धनका लागि पर्यटन महोत्सव, औद्योगिक मेला, सडकखाना महोत्सव, गोष्ठी, अन्तर्क्रिरया व्यापारमा सहजीकरण लगायतका काम गर्दैे आएको छौ । २०६६ सालबाट संगठनले महोत्सव आयोजना गर्दै आएकोमा अहिले चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० महोत्सव हुदैछ । मेलाको उद्घाटन मंसिर ६ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख अतिथ्यता एंव सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी को विशिष्ट अतिथ्यतामा सम्पन्न भएको छ ।
विगतका सफलतालाई आत्मसाथ गर्देै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरुसहित मेला आयोजना गरेका छौ । मेला प्रवेश गरेसँगै नयाँपनको महशुष हुन्छ । महोत्सव सफल बनाउनका लागि मेरै संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न ४२ वटा उपसमिति, २५ सदस्यीय विशेष सलहकार समिति र १५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
वर्षेनी मेला महोत्सवहरु हुदै आए पनि अहिलेको उद्देश्य के हो ?
मेलाको माध्यमबाट स्थानिय ब्राण्ड तथा पर्यटन स्थलहरुको प्रवद्र्धन, उद्योगहरुको उत्पादन तथा सेवाहरुको प्रवद्र्धन तथा प्रचार प्रसार गराउन अवसर प्रदान गर्ने, स्थानिय स्तरको हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादनहरुको प्रर्दशनी, नबिन प्रबिधिको प्रर्दशनी हुने भएकाले सबैका अबसरको रुप हो । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरूप प्रर्वद्धन गर्ने, लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटन रुपमा विकास गर्ने , उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराई उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराई स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग पुयाउने, सूचना प्रविधिमा पहुँच पुयाउने र विकास र विस्तारमा सहयोग पुयाउने, स्थानीय स्तरमा उत्पादित बस्तु तथा हस्तकला सामाग्रीको बजार विस्तार र प्रबन्ध मिलाउन उद्धेश्यले महोत्सव आयोजना गरेका हौ ।
स्थायी मण्डप नहुदा पनि महोत्सव गरिरहनु भएको छ, मण्डपका लागि पहल के भए?
हामीले पहिलो पटक मेला लगाउनु भन्दा पहिलै बाट मेला महोत्सवका लागि आवाज उठाउदै आएका छौ । हाल सम्म ५ वटा मेला सफल गरेपनि ती अस्थायी संरचना बनाएर गरेका छौ, अहिले छैठौ मेला पनि व्यक्तिको जग्गा लिजमा लिएर आयोजना गरेका छौ । स्थायी मण्डप नभएकै कारण मेला महोत्सवका लागि अस्थायी संरचना निर्माण गरिन्छ र भत्काइन्छ जसमा ठूलो रकम र समय खर्चिएको छ ।
स्थायी मण्डपको लागि धेरै प्रयास गर्दा समेत कुनै ठोस निर्णय नभएकोले यस वर्ष पनि संरचना निमार्णको लागि करिब ३० देखी ४० लाख रुपैयाँ खर्चिएर मेला आयोजना गरेका छौ । डेलिगेशन, मन्त्री, प्रधानमन्त्री विभिन्न सरकारी वा निजी क्षेत्रको कार्यक्रममा मण्डपको आवाज उठाउने गरेपनि ठोस निर्णय भएको छैन । मुख्य रुपमा सरकार वा स्थानीय सरकारले गर्नुपर्नेमा केही मतलब गरेको छैन । भैरहवा मण्डप मेला महोत्सव गर्नका लागि मात्रै नभई सबैको लागि आवश्यक छ कुनै पार्टीको सभा, सम्मेलन गर्नु पर्दाबाटो नै जाम गर्नुपर्ने बाध्यतालाई हटाउन पनि मण्डप अति आवश्यक रहेको छ । संगठनले स्थायी मण्डपका लागि निवर्तमान अध्यक्ष अनिल ज्ञवालीको संयोजकत्वमा समिति निर्माण गरी स्थायी मण्डपको पहल गरेको छ । यस अघि २०७४÷७५ सालमा उद्योग वाणिज्य संघ र व्यापार संगठनको पहलमा मण्डपकै लागि समिति बनेको थियो, जसबाट केही जग्गा पहिचान भई विकल्पको रुपमा दिएका छौ ।
मेला महोत्सव अन्यत्र पनि आयोजना हुदैछ, यहाँ किन आउने ? आकर्षण र विशेषताहरु के छन ।
हो हामीले केही नौलोपन नदिए दर्शकहरु आउन मान्दैनन, जसका लागि हामीले स्वागत गेटबाट नै नयापन दिन खोजेका छौ । स्वागत गेटको रुपमा हामीले जहाज स्वरुपमा गेट बनाएका छौ । यसको अर्को कारण उद्घाटन भएर पनि हालसम्म नियमित सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार विमानस्थल र हवाइजहाजको आकृतिमा निर्माण गरेका छौ जुन भारतबाट कालिगढ ल्याएर निर्माण भएको छ । मेलामा सेल्फी÷टिकटक जोन पनि रहनेछ, यस्तै पशुपति नाथ मन्दिरको आकृतिमा सचिवालय, कृषि, उद्योग पर्यटन आइटी लगायतको प्रदर्शनी, महोत्सवमा लोक नृत्य तथा गायन, महिला कुस्ती, विद्यालय स्तरीय भलिबल प्रतियोगिता र उत्पादकएवं उपभोक्ता जोड्ने पुलको काम मेलाबाट हुने अपेक्षा छ । राष्ट्रिय तथा स्थानीय कलाकार,हास्यव्यंग, भोजपुरी थारु सास्कृतिक कार्यक्रम, डिजेको पनि व्यवस्था गरेका छौ । यस्ता विगतका मेलाहरु भन्दा ठूलो क्षेत्रमा बाल उद्यानको व्यवस्था गरिएको छ भने नयाँ नया खेलहरु पनि समावेश गरिएको छ ।
दर्शकको नआउनुको कारण महंगो टिकट र स्टलहरुमा आकर्षण नहुनु मानिन्छ । यस्का लागि यस पटक मेलाले के गर्दैछ ?
अहिलेको देशको अवस्था र विगतका मेलाहरुबाट भएको अनुभवको आधारमा अहिले हामीले दर्शकहरुको संख्या बढोस भन्नैका विहान ११ बजे सम्म शनिबार र सार्वजनिक विदाका दिन बाहेक निशुल्क प्रवेशको व्यवस्था गरेका छौ । अन्य समयका लागि प्रवेश शुल्क वापत ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकेका छौ । त्यस्तै परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताए । मेलामा कृषी, उद्योग, ब्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबिधी, होटल, रेष्टुरेृन्ट, बिद्युतिय सामग्री, छाला जुत्ता, लगायतका ३ सय ५० स्टल रहेका छन । स्टलहरुबाट पनि दर्शकहरुका लागि केही छुट सहितको व्यवस्थ ागर्न अनुरोध गरेका छौ, । कृषि घरेलु उत्पादनका बस्तुहरु पनि प्रदर्शन तथा बिक्रीका लागि रहेका छन ।
मेला महोत्सवमा सरकारको तर्फबाट के कस्तो सहयोग भएको छ?
सरकारी स्तरबाट हुनु पर्ने मेला महोत्सव हामीले गर्नु पर्ने बाध्यात्मक अवस्था छ । सरकारले साथ सहयोग गर्नुको साटो कर माथि कर लिइरहेको छ । एक हिसाबले भन्नु पर्दा सरकार स्ल्पिङ पार्टनरको रुपमा रहेको छ । मेला महोत्सव लागउनु राज्यको जिम्मेवारी भएपनि निजी क्षेत्रले लगाइदिनु पर्ने अवस्था छ । हामीले छैठौं पटक मेला लगाउदा पनि सरकारबाट नगन्य रुपमा सहयोग पाएका छौ । स्थानीय सरकारले केही भएपनि सहयोग निरन्तर गरेपनि प्रदेश र संघीय सरकारबाट सहयोग भएको छैन ।
अन्तयमा दर्शक,आम सर्वसाधरणलाई के सन्देश दिनु हुन्छ ?
आर्थिक क्षेत्र चलायमान हुन नसकेको अवस्थामा आर्थिक क्षेत्रमा केही भए पनि चलायमान होस् भन्ने उद्देश्यले मेला आयोजना गरेका छौ । महोत्सव स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने स्थान रहेकोले उपभोक्ता तथा दर्शकहरुलाई एक पटक भएपनि मेला अवलोकन गर्न अनुरोध गर्दछु । सरकारले गर्नुपर्ने महोत्सव निजी क्षेत्रले गर्दै आएको छ यस क्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाज, संस्कृति प्रेमी समुदाय, संचारकर्मी सबैको साथ र सहयोगको अपेक्षा गर्दछौ । महोत्सवमा ३ लाख बढिले अवलोकन गर्ने र १ करोड २० लाख अनुमानित लागत लाग्ने अपेक्षा आयोजकले गरेको छ ।
