भैरहवा । बैकको ज्यादतीका कारण होटल व्यवसाय डुब्ने स्थितीमा गएको व्यवसायीहरुले बताएका छन । लुम्बिनी होटल संघ नेपालको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिेवशनमा बोल्दै व्यवसायीले आर्थिक संकटहुदा पनि बैंकको ज्यादती कायम रहेकोले होटल लिलाम भएको र हुने क्रममा रहेको बताए । बैंकले लगानी गर्ने समयमा तोकेको व्याजदर भन्दा दुईगुणा सम्म बढाउदै जादा बैंकको कठोर नियमले पर्यटन व्यवसायीहरु धरासायी हुदै गएकोले अहिले बैंक व्याज तिर्ने अवस्था समेत नरहेको बताए । चर्को व्याजदर तिर्नु पर्ने बाध्यता, बैंक व्याज तिर्ने अवस्था नरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले मुलुकको अवस्था जर्जर रहेकोले समस्या समाधान गर्न हरेश नखाई आर्थिक विषयमा संवाद गर्न जरुरी रहेको बताए । ‘सरकारले विमानस्थल जस्तो परियोजना देखाएर मात्रै हुदैन यसलाई संचालनका लागि पहल गर्नु पर्छ ।’ सपना देखाएर निजी क्षेत्रले धेरै लगानी गरकोमा अहिले लगानी डुब्ने स्थितीमा रहेको बताए । उनले प्रहरीबाट पर्यटकहरुमा भएको पाइला पिच्छे चेकिङले भारतिय पर्यटक नेपाल आउनेमा कमि भएकोले यसमा गम्भिर हुुनुपर्ने बताए ।
सिद्धार्थ उद्योग वाण्ज्यि संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जुन उद्देश्यले निजी क्षेत्रले पर्यटन व्यवसायमा लगानी गरेको छ अहिले सम्म प्रतिफल प्राप्त नभएको बताए । उनले राष्ट्र बैंकको ऐन नियम नै कठोर बनाएकोले निजी क्षेत्र अगाडि बढ्ने स्थिती छैन, उद्योग व्यवसाय भए मात्रै राष्ट्र समृद हुने हुदा यसमा सरकारले कदम चाल्नुपर्ने बताए । विमानस्थल भन्दा बढि लगानी निजी क्षेत्रले गरेकोमा अहिले लगानी डुब्ने स्थितीमा रहेको उनले भने ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले देशलाई उद्योगी व्यवसायीले जोगाएको बताउदै उनीहरुको संरक्षण गर्न सरकार पछि नहुने बताए । उनले व्यवसायीहरुको समस्या समाधानका लागि आफु पनि साथ दिन तयार रहेको बताउदै समस्या समाधानको लागि व्यवसायीहरुको आवाज उठाउन आफु पनि निष्ठा पूर्वक आन्दोलन सम्म जान तयार रहेको बताए ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कुनै पनि हालतमा कोष भित्र गुम्बाको नाममा होटल संचालन गनर््ु हुदैन कोषले गलत काम गरे आन्दोलनमा जाने बताए । लुम्बिनी विकासकोष भित्रका गुम्बाहरुमा होटल सरहको सुविधा दिएर संचालन गर्ने र व्यवसायी जस्तै करको दायरामा ल्याउने भए सबै होटल व्यवसायीलाई विकास कोषले ठाँउ दिनु पर्ने उनले बताए । करोडौँ लगानी गरेर हामीले सेवा दिदा गूम्बाको नाममा व्यवसाय गर्न नपाइने उनले भने ।
मन्त्री गुप्ताले यहाँ आउने भारतिय पर्यटकमा गरिने व्यवहार तेस्रो मुलुकको पर्यटक जस्तो नगरेको पाएकोले सबै पर्यटकलाई सम्मानजनक व्यवहार गर्नु पर्ने, लुम्बिनीको नामले देशको पहिचान हुने हुदा नाम बेचेर कोष भित्र पुर्वाधार विकास भएपनि पर्खाल बाहिरका नागरिकले विकासको अनुभूत हुने काम गर्न आग्रह गरे । लुम्बिनी विकास कोषका लागि यहाँका जनताले जग्गा दिएर ठूलो योग्दान गरेकोले त्यसलाई कदर गर्दै कोषले पनि स्थानीयलाई प्राथमिकताका साथ योग्यता अनुसार सम्मानजनक ठाँउ दिनुपर्ने मन्त्री गुप्ताले भने ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराईले लुम्बिनीमा पर्यटकको आगमन बढेकोले पर्यटन क्षेत्रमा सुधार भएको देखिएको छ । कोष नितिगत निर्णयहरुमा मात्रै केन्द्रित रहेकोले पछिल्लो समय विकास कोेषमा नितिगत क्षेत्रमा धेरै काम भएको छ । स्थानीयसँग लुम्बिनी विकास कोषको सहकार्य गर्न नितिगत व्यव्स्थापन गर्न लागिएको बताए ।
लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख राजेन्द्र जयसवालले पर्यटकहरु सिधै लुम्बिनी विकास कोष जाने र फर्किने गरेकोले स्थानीयले यसको लाभ लिन नसकेको बताउदै यसलाई रोक्नु पर्ने बताए ।
पर्यटन क्षेत्रका अगुवा हेम विष्टले सरकारले आध्यत्मिक क्षेत्रमा खासै लगानी नगरी भौतिक र पूर्वाधार क्षेत्रमा मात्रै लगानी गरेको बताए ।
गैडहवा गाँउपालिकका अध्यक्ष सुरेन्द्र पौडेलले पर्यटक आउने माहोल नभएको बेलामा मायादेवी मन्दिर प्रवेश शुल्क बढाउन नहुने बताए । गौतमबुद्धको नाम भजाउने काम मात्रै भएको छ, मायादेवी मन्दिर परिसरमा व्यवस्थापन राम्रो गरेर, पर्यटकलाई सहज र आकर्षित हुने माहोल बनाएर मात्रै प्रवेश शुल्कमा विकास कोषले जोड दिनुपर्ने बताए ।
कार्यक्रमको अवसरमा लुम्बिनीमा ठूलो योग्दान पु¥याएका पुरातात्वविद तथा अनुसन्धान कर्ता बसन्त बिडारी, एसईईमा उत्कृष्ट विद्यार्थी र संचार क्षेत्रमा योगदान गर्ने पत्रकार प्रह्लाद यादवलाई समेत सम्मान गरिएको थियो ।
अध्यक्षमा पुनः ज्ञवाली
लुम्बिनी होटल संघको अध्यक्षमा दोश्रो कार्यकालको लागि गोविन्द प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । तेस्रो अधिवेशनबाट ज्ञवाली निर्विरोध भएका हुन ।
दुई वर्षे कार्यकालका लागि संघको वरिष्ठ उपाध्यक्षमा लिलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरण प्रसाल कण्डेल, सचिव भुपेन्द्र गुरुङ्ग र सह कोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत प्रख्यात बन्जाडेले जानकारी दिए ।
यस्तै सदस्यमा टीका कुमारी कट्टेल, पदमा न्यौपाने, दिपक पङेनी, एकराजकण्डेल (सागर), कृष्ण बहादुर, जगत थापा, धिरज भण्डारी र प्रदिप भट्टराइ निर्वाचित भएका छन ।
