
स्टार खबर नेपाल/संवाददाता
भैरहवा /आर्थिक अभावका कारण विद्यालय पोसाकसमेत जुटाउन नसक्ने अवस्थामा रहेका रुपन्देहीको शुद्धोधन गाउँपालिकाका सयौं सामुदायिक विद्यालयका विद्यार्थीका लागि समाजसेवी रामजित लोध सहारा बनेका छन्। उनले आफ्नै व्यक्तिगत खर्चमा तीन वटा सामुदायिक विद्यालयका करिब ९ सय विद्यार्थी तथा शिक्षकलाई विद्यालय पोसाक वितरण गरेका छन्।

शुद्धोधन गाउँपालिका–७ तुनिडिहवाका युवा समाजसेवी लोधले गाउँपालिका–६ स्थित श्री गुरौलिया माध्यमिक विद्यालय, वडा नं. ७ स्थित श्री जनता माध्यमिक विद्यालय र श्री राधाकृष्ण बाल आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकलाई विद्यालय पोसाक उपलब्ध गराएका हुन्।

पोसाक हस्तान्तरण कार्यक्रममा उनले विद्यालय जाँदा कतिपय विद्यार्थीसँग सर्ट मात्र, कतिपयसँग पाइन्ट मात्र र केहीसँग विद्यालय पोसाक नै नभएको अवस्था देखेपछि आफूलाई सहयोग गर्न प्रेरणा मिलेको बताए।
“विद्यार्थीले विद्यालय पोसाकको अभावमा हीनताबोध महसुस गर्न नपरोस् भन्ने उद्देश्यले आफ्नै कमाइबाट यो सहयोग गरेको हुँ,”
उनका अनुसार विद्यालय पोसाक उपलब्ध गराउने दायित्व स्थानीय सरकारको भए पनि आवश्यक पहल नदेखिएपछि आफू स्वयं अघि सरेका हुन्। उनले अब जुत्ता, टाई, बेल्ट, झोला लगायतका आवश्यक शैक्षिक सामग्री गाउँपालिका र वडा कार्यालयले व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे।
“शिक्षामा गरिएको लगानी नै भविष्य निर्माणको आधार हो। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित हुनुहुँदैन,”उनले भने।
लोधले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न परिवारका भएकाले उनीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन स्थानीय सरकारले शिक्षा क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याए। सामुदायिक विद्यालयका विद्यार्थीले पनि निजी विद्यालयसरह गुणस्तरीय र सम्मानजनक वातावरणमा अध्ययन गर्ने अधिकार पाउनुपर्ने उनको भनाइ थियो।विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयवासीले लोधको सहयोगको प्रशंसा गर्दै यसले विद्यार्थीमा नयाँ उत्साह, आत्मविश्वास र नियमित रूपमा विद्यालय जाने प्रेरणा बढाएको प्रतिक्रिया दिएका छन्।
स्थानीय समुदायले यो अभियानलाई विपन्न विद्यार्थीको शैक्षिक यात्रामा ठूलो राहत पुर्याउने अनुकरणीय सामाजिक योगदानका रूपमा लिएको छ। उनीहरूले शिक्षा क्षेत्रमा यस्ता सामाजिक पहल अझ विस्तार हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
