अरुण ज्ञवाली
भैरहवा । विजय गोविन्द श्रेष्ठ । साहित्यीक नाम वियज सागर श्रेष्ठ भनेर धेरैमाझ उहां परिचित हुनुहुन्छ । सरकारी सेवा निवृत्त जीवनमा पनि समाज र देशको बारेमा यति धेरै चिन्तन गर्ने व्यक्ति समाजमा सायदै होलान ।
विजय सागर श्रेष्ठ साहित्यकार, सामाजिक अगुवा, संस्कृत विद् धेरै विधामा अब्बल व्यक्तित्व हुनुहुन्छ । सरकारी सेवालाई चुस्त वनाउन होस् या विकास निर्माणका कामको गुणस्तरीयतामा सधै खवरदारी गर्ने सिंगो संस्था नै भन्दा फरक नपर्ला उहांलाई ।
७६ वर्षको उमेरमा पनि दैनिक ८ घण्टा अध्ययनमै विताउने विजय सागर श्रेष्ठले समाजमा देखिने विकृति, विसंगतीतर्फ युवाहरुलाई सचेत बनाउदै नेपाली विभिन्न जातजातिको उत्पत्ति, उनीहरुको संस्कृति र भाषाका विषयमा अध्ययन अनुसन्धान गर्दै आउनु भएको छ ।
नेपाली धार्मिक ग्रन्थहरु, नेपाली साहित्यका विविध विधाहरु र साहित्यकारहरुको जीवनीमा समेत राम्रो ज्ञान भएका विजय सागर श्रेष्ठ आफ्नी आमाको प्रेरणाबाटै साहित्यमा रुची बढेको बताउनु हुन्छ । देशको राजनीतिक अवस्थालाई विश्लेषण गर्दै नेपाली राजनीतिज्ञमा देखिएका नैतीक पतनका घटनाक्रम, देशमा मौलाएको नीतिगत भ्रष्टाचार, समाजमा देखिएको विकृति, नेपाली संस्कृत विर्साउने गरी युवा पुस्तामा हावी विदेशी संस्कृतिका बारेमा आवाज उठाउने निडर, स्पष्ट वक्ताको रुपमा परिचत विजय सागर श्रेष्ठले भैरहवाको ईतिहास, वर्तमान र यहांको विकासक्रमलाई उजागर गर्ने गर्नुभएको छ ।
उहांको सरल जिवनशैली, स्नेही भावना, सक्रिय दैनिकीले हरेक व्यक्तिलाई समाजका लागि केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जगाउंछ । आजको स्टार संभादमा पत्रकार अरुण ज्ञवालीले उहांसंग यस्तै समसामयिक विषयवस्तुमा रहेर कुराकानी गर्नुभएको छ ।
