भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय परिचय पत्र वितरण शुभारम्भ गरेको छ । आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारीद्धय धु्रव कुंवर, रामचन्द्र अर्यालले सेवाग्रहरीलाई कार्ड हस्तान्तरण गर्दै पहिलो वितरण कार्य शुभारम्भ भएको घोषणा गरे ।
सेवाग्रहीलाई परिचय पत्र हस्तान्तरण गर्दै रुपन्देहीमा पहिलो चरणमा ४४ हजार परिचय पत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । वहुआमिक प्रयोजनका लागि नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको अवधारण ल्याएकोले तत्कालका लागि ईपासपोर्ट बनाउन परिचय पत्र अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले भनाई छ ।
उनका अनुसार विद्यार्थीहरुको लागि उच्च शिक्षा अध्ययनको फारम भर्न, बैंक खाता खोल्न, लाईसेन्स प्राप्तिको लागि लगायत सरकारले प्रदान गर्ने हरेक सेवासुविधासंग यसलाई जोड्ने उद्देश्यका साथ सरकारले राष्ट्रिय परिचय पत्र प्रयोगमा ल्याएको हो ।
रुपन्देहीमा करीब ६ लाख जना व्यक्ती राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिएका छन् । पहिलो चरणमा कम मात्रामा परिचय पत्र वितरण गरिए पनि फारम भरेर बायोमेट्रिक्स दिएकाहरुको हकमा निकट भविश्यमा वितरण गरिने प्रजिअ पाण्डेको जानकारी दिए । परिचय पत्र बनाउंदा सम्बन्धित जिल्लाको नागरिकलाई प्राथमिकता दिने पनि उनले बताए । पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेका सिद्धार्थनगर ८ निवासी गोपाल प्रसाद अर्यालले खुशी व्यक्त गर्दै सरकारले यसलाई बहुप्रयोगका रुपमा ल्याइ नागरिकलाई धेरै कागजपत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गनुपर्ने सुझाव राखे । उनले भने“एउटै व्यक्तीले नागरिकता, लाईसेन्स,अन्य परिचयपत्र धरै कागजपत्र बोक्नु नपर्ने गरी यसलाई सरकारले बहुआयामिक बनाओस् ।”
दुई वर्ष अगाडि सिद्धार्थनगरका तत्कालिन नगर प्रमुख हरि प्रसाद अधिकारीले फोटो खिचाएर उद्घाटन गरी राष्ट्रिय परिचय पत्रको फारम भर्ने कामको सुरु गरिएको थियो । फारम भरेको लामो समय सम्म परिचयपत्र नआउंदा सेवाग्राहीमा परिचय पत्र प्राप्त गर्ने नगर्ने अन्यौलता थियो । तर आईबार वितरण कार्य शुरु भएसंगै रुपन्देहीका नागरिकमा उत्साह थपिएको छ ।
