प्रमुख प्रशासकीय अधिकृत २ वर्ष सरुवा नगर्ने, दोहोरो संरचना खारेज गर्ने

काठमाणडाै ।  संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने संयन्त्र राष्ट्रिय समन्वय परिषदको पहिलो बैठकले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कम्तीमा २ वर्षका लागि खटाउने सहमति भएको छ ।

शनिबार पोखरामा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रदेशका मुख्यमन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्नेलगायतका विभिन्न ६ वटा निर्णय गरेको छ ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद रहने व्यवस्था छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए ।

बैठकमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कम्तीमा २ वर्षका लागि खटाउने सहमति भएको छ । प्रदेशमा खटिएका सचिव पनि एक वर्ष सरुवा नगर्ने सहमति भएको बैठकमा सहभागी एक सचिवले बताए । संघले प्रमुख प्रशासकीय अधिकृत र प्रदेशका सचिव पठाउने र प्रदेश तथा स्थानीय तहले हाजिर गराउने सहमति भएको ती सचिवले जानकारी दिए ।

हाजिर नगराउने प्रदेश वा स्थानीय तहको अनुदान रोक्का गर्ने पनि निर्णय भएको उनले बताए । कतिपय प्रदेशले प्रमुख प्रशासकीय अधिकृत आफैं खटाउने गरी प्रदेश निजामती ऐन बनाएका छन् । तर संघीय ऐनले स्पष्ट नगर्दासम्म हाजिर गराउने काम स्थानीय तहको र खटाउने काम संघको हुने गरी सहमति भएको हो ।

बैठकले अनुदान वितरण दोहोरो नपर्ने गरी क्षेत्र तोक्न एक समिति गठन गर्ने निर्णय गरेको छ । तीनै तहबाट जाने अनुदानको शीर्षक, प्रकृति र रकम अध्ययन गरी दोहोरो अनुदान बन्द गर्न समिति गठन गर्ने र त्यसमा प्रदेश तथा स्थानीय तहलाई समेत सहभागी गराउने निर्णय भएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।

अहिले संघ, प्रदेश र स्थानीय तहले आआफैं अनुदान रकम वितरण गर्दा कतिपयले दोहोरो अनुदान लिइरहेको र अनुदानको प्रभावकारिता नभएको गुनासो बढेको थियो । बिना समन्वय अनुदान वितरण गर्दा पहुँचवालाले पटक पटक पाउने, कसैले पाउँदै नपाउने परिस्थितिको अब अन्त्य हुने गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

एउटै प्रकृतिको कामको लागि संघ र प्रदेशमा स्थापना भएका अलग अलग संरचना पनि अब हटाउने निर्णय भएको छ । संघीयता कार्यान्वयनपछि पनि संघीय सरकार र प्रदेश सरकारका उस्तै प्रकृतिका संरचना कायम रहँदा चालु खर्च बढेको र काममा दोहोरोपना बढेको भन्दै मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका थिए ।

‘के कस्ता संरचना राख्ने, कुन खारेज गर्ने भन्ने विषयमा ३ महिनाभित्र सिफारिस गर्न समिति गठन गर्ने निर्णय भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका एक सचिवले भने, ‘प्रदेश समन्वय समिति हेर्ने सचिवको नेतृत्वमा गठन हुने समितिले उपयुक्त विकल्प दिने छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!