भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ मा जेष्ठ नागरिक जागरुकता दिवस मनाइएको छ । विश्व जेष्ठ नागरिक दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका–५ को कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा जेष्ठ नागरिक जागरुकता दिवस मनाइएको हो ।
विश्व जेष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले वडाका जेष्ठ नागरिक ८५ वर्षीय जुद्धमान श्रेष्ठलाई खादा र सल ओढाएर सम्मान समेत गरेको छ । उक्त अवसमार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सविता जि.सी.ले कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई कानुनी साक्षरता प्रदान गरेकी थिइन् । उनले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अनुसार जेष्ठ नागरिकहरुलाई अधिकारहरु प्रदान गरेको बताइन् । कार्यक्रममा उनले कानुनले प्रदान गरेको अधिकार, छुट, सुविधा लगायतको विषयमा जानकारी गराएकी थिइन् ।
‘तपाईहरुलाई (जेष्ठ नागरिक) कसैले अत्याचार, दुव्र्यहार लगायत कानुन विपरत कार्य गरेमा प्रहरी कार्यालयमा प्रमाण सहितको उजुरी दिनुहोला, कारवाही प्रक्रिया अघि बढ्छ’ उनले भनिन् । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले जेष्ठ नागरिकहरुका लागि वडाहरुले विभिन्न कार्यहरु गर्दै आएको र अगामी दिनमा पनि कार्यहरु गर्दै जाने बताए ।

विगतमा पनि जेष्ठ नागरिकलाई सम्मान गरिएकोमा यस वर्षपनि वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिने उनले जानकारी दिए । उनले वडाको कार्यालय वडावासीहरुको काँधमा काँध मिलाएर अघि बढ्न चाहेको बताउँदै सबैको साथले नै वडाको विकास हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा नम्बर ५ को कार्यालयले प्रशंसनीय कार्यहरु गर्दै आएको बताए । उनले जेष्ठ नागरिकहरुको साथ विना नगरको विकास गर्न सम्भव नरहेकोले विकासका लागि जेष्ठ नागरिकहरुको सुझाव÷सल्लाह आवश्यक रहेको बताए । जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने, वृद्धवृद्धाहरुलाई दुव्र्यहार गर्नु नहुने भन्दै कसैले गरेमा कानुनी व्यवस्था अनुसार सजाए हुने उनले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्ग, समाजसेवी नारायण प्रसाद अग्रवाल, ओमकार गौचन, सुशिल गुरुङ्गले जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुपर्ने भन्दै वडा नम्बर ५ को कार्यालयले गरिरहेको कार्यहरुको प्रशंसा गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठको अध्यक्ष्ता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख अतिथ्यता र वडा कार्यालयको सचिव बन्दना उपाध्यायको स्वागत मन्तव्य तथा वडा सदस्य सरस्वती श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा डा. शम्भु गुप्ता, आनन्द प्रसाद गुप्ता, भरत सिंह बिच्कुच्छे लगायतको उपस्थिती रहेको थियो ।
