भैरहवा । गैरआवसीय नेपाली संघ एन.आर.एन. रसियाले श्री पक्लिहवा माध्यमिक विद्यालयमा चार लाख रुपैयाँको ‘छात्रवृत्ति अक्षयकोष’ स्थापना गरी हस्तान्तरणा गरेकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभासद एवम् पूर्वमन्त्री माननीय अब्दुल रज्जाकको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा एन.आर.एन. रसियाको तर्फबाट दुई लाख र एन.आर.एन. रसियाका उपाध्यक्ष गणेश कुमार रामदाम वि.क.बाट दुई लाख गरी जम्मा चार लाखको चेक एवम् सम्झौता–पत्र हस्तान्तरण गरिएको थियो ।
छात्रवृत्ति अक्षयकोषको चेक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि माननीय अब्दुल रज्जाकले नेपाल सरकारको शिक्षा नीति अपूर्ण रहेको र पुरानै शिक्षा नीतिले देशको शैक्षिक क्षेत्रमा परिवर्तनको आभाष जनतालाई गराउन नसकेको भन्दै वर्तमान शिक्षा नीतिले प्रमाण–पत्र मात्र वितरण गर्ने र देशमा बेरोजगार बढाउने गरेकोमा अब बन्ने संघीय शिक्षा ऐन प्राविधिक शिक्षा सहितको व्यवहारिक सीपमा जोड दिने र विद्यालयमा कार्यरत बालविकास र कर्मचारीहरुको वृतिविकासमा सरकारको नीति स्पष्ट हुनुपर्छ बताए । सोही समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा दिने थलोको रुपमा विकास गर्न सरकारीस्तरबाट मात्र नभई विद्यालयबाट अध्ययन गरी देशविदेशमा रहेका पुर्व विद्यार्थीहरुको भेला गराई विद्यालयलाई आर्थिक एवम् शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए।

अक्षयकोष स्थापनाकर्ता गणेश कुमार रामदाम वि।क।ले आफूले अध्ययन गरेको विद्यालयमा पढ्न आउने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरि सानो रुपमा भएपनि यो छात्रवृत्ति स्थापना गर्दा आफूलाई गर्ववान्वित महसुस भएको र भोलिका दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गले विद्यालयको अधिकाशं भौतिक पूर्वाधार तत्कालिन समयमा विट्रिस सरकारको सहयोगमा निर्माण भएको र हाल नयाँ विद्यालय व्यवस्थापन समिति आए पछि समग्र पक्षको सद्भाव र सहयोगमा संघ, प्रदेश र स्थानिय सरकारबाट सहयोग जुटाई विद्यालयको चौतर्फी विकासमा कटिबद्ध रहेको जानकारी गराउदै गैरआवासीय नेपाली संघ रसियाको तर्फबाट पूर्व छात्र गणेश कुमार रामदाम वि.क.ले छात्रवृत्ति अक्षयकोष स्थापनागरेकाेमा धन्यवाद दिदै यसबाट प्राप्त वार्षिक ब्याज रकमबाट विद्यालयले कक्षा ६ देखि ९ सम्म अध्ययनरत एक–एक जना छात्र–छात्रा गरी कुल आठ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सो रकमबाट छात्रवृत्ति वितरण गरिने बताए ।
विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको स्वागत र शिक्षक भरत गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
