भैरहवा । मानवअधिकार एलाइन्स राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले मानव तस्करी नियन्त्रण गर्न माग गरेको छ । नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न भएका भन्दै मञ्चले रुपन्देही प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागिरकहरुलाइ अन्य मूलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरुपयोग हो भन्दै बुधबार मंचले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।
नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा सलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय हो । यस्ता अपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथी कडा कारवाही गरिनु पर्ने मञ्च लुम्बिनी प्रदेश सचिव दामोदर घिमिरेद्वारा हस्ताक्षरित ध्याननकर्षण पत्रमा उल्लेख छ ।
आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, तथा राजनीतिक दलहरू प्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानवीन गर्न, दोषीलाइ कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्यमान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मंचले जोडदार माग गरेको मञ्चका रुपन्देही जिल्ला सचिव चिरञ्जिवी ज्ञवाली जनकारी दिए । मञ्चले अनुसन्धान प्रकृयालाई सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानवअधिकारको प्रत्याभूति गराउन नेपाल सरकार एवम् सम्पूर्ण सरोकारवालाहरू आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्लाअधिकारी भरतमणी पाण्डेले पत्रलाई यथासिघ्र सम्बन्धित ठाउमा पु¥याउने बताए ।
