भैरहवा । नक्कली अन्त शुल्क स्टीकर प्रयोग गरी मदिराको अबैध कारोबार गर्ने दुई युवा रुपन्देही प्रहरीको फन्दामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षिय मूख्तार पठान र सोही ठाउ बस्ने २८ बर्षिय नविन पन्थी रहेका छन् ।
प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यक चिम्नी ब्राण्डको १ बोतल नक्कली मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टांसेर बजारमा बिक्रि बितरण गर्ने गरेका थिए ।
बजारमा नक्कली मदिरा बिक्रि भएको गुनासो बढे पछि मदिरा ब्यवसायी संघले यस बिषयमा चासो राखेको थियो । “बुझ्दै जादा नक्कली मदिरा बिक्रि बितरणमा यी दुई युवाहरुको संलग्नता देखियो ।” मदिरा ब्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने “ लुम्बिनी भैरहवा सडकमा रहेको बेथरीको एक होटलबाट उनिहरुद्वारा बिक्रि गरिएको मदिरा फेला परे पछि प्रहरीको सहयोगमा उनिहरुलाई प्रक्राउ गरिएको हो ।
सिग्नेचर, ओल्ड दरवार, एटएटफोएट ब्राण्डका रक्सीहरु बजारमा अभाव भईरहेको समयमा विभिन्न होटलहरुमा सोही रक्सीहरु सस्तो मुल्यमा विक्री भईरहेको भन्ने सुचना पाएपछि यहाका मदिरा व्यवसायीहरु यसको निगरानीमा लागेका थिए । सोही क्रममा करीब ३३ हजार रुपैंया बराबरको अवैध रक्सी, नक्कली स्टीकर र सक्कली रक्सीका खाली बोटल वरामद गरी प्रहरीलाई बुझाएका हुन् ।
यस भन्दा पहिला पनि यस्तै गिरोहलाई नक्कली मदिराको कारोबार गरेको भेट्टाएको यति डिष्ट्रिलरीका क्षेत्रिय बिक्रि प्रवन्धक प्रितम गिरीले बताए । यस्तो गिरोहले ब्राण्डेड रक्सीहरुमा पानी वा तल्लो स्तरको मदिरा मिसाई बेच्ने गरेको उनको भनाई छ । “सा–सानो परिमाणमा अलि सस्तो दरमा रेष्टुरेण्ट, होटल लगायतमा बिक्रि गरेको पायौ ।” उनले भने “हामी ब्यवसायीहरु पनि सुक्ष्म अनुसन्धान गरिरहेका थियौ, अहिले उद्योग नै फेला प¥यो ।” गिरोहका सदस्यहरुले भारतीय बजारबाट अन्तःशुल्कको नक्कली स्टिकर छापेर ल्याउने गरेको प्रारम्भिक अनुुन्धानबाट देखिएको प्रहरीको भनाई छ । यी स्टिकरहरुमा ब्याच नम्बर, सिरियल नम्बर लगायत सबै एउटै अंक रहेको छ ।
पक्राउ परेका दुवै आरोपीलाई बरामद समान सहित थप कार्यवाहीको लागि भैरहवाको आन्तरिक राजस्व कार्यालयमा बुझाउने प्रहरी निरिक्षक किशोर केसीले बताए ।
