भैरहवा । निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले ठेक्कामा घटेर काम गर्ने प्रथा बन्द गर्नुपर्ने बताएका छन । रेडिमिक्स व्यवसायी संघ नेपाल, लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको अवसरमा बोल्दै अध्यक्ष रानाले व्यवसाय विना देश नफास्टाउने बताउदै सरकारले काम भएको ठाँउमा बजेट नदिने र बजेट दिनुपर्ने ठाँउमा बजेट नभएर व्यवसायीहरुले भुक्तानी नपाएर बस्नु परेको छ । देशको आर्थिक अवस्थाले निर्माण व्यवसायी संकटमा रहेकाले यसलाई चलायमान गारउन राज्यले मात्रै सक्ने बताए । राज्यको मेरुदण्ड नै संरचना रहेकोले दीगो विकासको लागि रेडिमिक्सको भुमिका महत्वपूर्ण छ, राज्य हुदा पनि जोखिम निजी क्षेत्रले लिनु परेको अवस्था रहेको उनले भने । हामी व्यवसायीहरु एक आपसमा ठेक्का पाउनका लागि तोकिएको भन्दा घटेर काम गर्नु भन्दा सबै व्यवासयी एकजुट भएर इमान्दारिता देखाउदै न्युनतम मापदण्ड अनुसारनै मुल्य तय गरि जानु पर्ने बताए ।
रेडिमिक्स व्यवसायी संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष भरतकुमार पोखरेलले शासकको मानसिकताबाट राज्य नहटेको रेडिमिक्स व्यवसायीहरुले आरोप लगाए । उद्योगीले झेल्नु परेका समस्याप्रति सरकार उदासिन रहेको जनाउँदै सबै व्यवसायी एकजुट भएर समस्या समाधानमा पहल गर्नतर्फ लाग्नु पर्ने बताए । सरकारी संरचना निर्माण गर्दा आफ्नो कमजोरी लुकाएर निर्माण व्यवसायीलाई दुख दिने गरेकोले सरकारले आफ्नो प्रविधिकलाई दिनु पर्ने दोष हामी निर्माण व्यवसायी माथी दिई भुक्तानी रोक्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही अध्यक्ष भिष्म न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, लुम्बिनी इटा व्यवसायी संघका अध्यक्ष अजय गुप्ता, संस्थाका सल्लाहकार ध्रुव कुमार श्रेष्ठ लगायतले बोल्दै गुणस्तरीय र मापदण्ड अनुसार वैज्ञानिक तरिकाले विकास निर्माणको काम गर्नुपर्ने, रेडिमिक्स व्यवसायीले स्वस्थ्य प्रतिस्पर्धाका साथ निर्धारित मापदण्ड र गुणस्तरको पालना गर्नुपर्ने, म्यानुअली प्रयोग गरिएका संरचना त्यत्ति भरपर्दो र बलियो नहुने भएकोले हरेक ठूला प्रोजेक्टको दीगो विकासका लागि आरएमसीको प्रयोग गर्ने वातावरण मिलाउनु पर्ने, गुणस्तरमा नखसी पारदर्शी रुपमा काम गर्नुपर्ने र लगानी गर्नु भन्दा अगाडि बजारको निश्चितता गरेर मात्रै आवश्यक ठाउमा रेडिमिक्स उद्योग संचालन गर्नु पर्ने बताए ।

रेडिमिक्स व्यवसायीहरुले आर्थिक संकटको बेला सबै सामानको मुल्य बृद्धि हुदै गएपनि एक आपसको प्रतिस्पर्धाले रेडिमिक्सको मुल्य घट्नु राम्रो नभएको बताए । स्वस्थ प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा पुगेपनि व्यवसायीहरु बीच अस्वस्थ्य प्रतिस्पर्धा हुन नहुने बताए । रेडिमिक्सहरु एकैठाउँ स्थापित भई व्यवसायीबीच नै अस्वस्थ प्रतिष्पर्धा हुनु भन्दा विकसित शहर, जनसंख्या र विकास निर्माणका कामलाई विश्लेषण गरेर नै रेडिमिक्स व्यवसाय सञ्चालन गर्नुपर्ने उनीहरुले औल्याए ।
रेडिमिक्स व्यवसायी संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष भरतकुमार पोखरेलको अध्यक्षता, दिनेश भुसालको स्वागतमा भएको कार्यक्रममा सचिव बाबुराम चौधरीले सचिवको प्रतिवेदन र सल्लाहकार चन्द्रमणी अधिकारीको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशमा संचालित १४ वटा रेडिमिक्स उद्योगले करिब २ अर्बको लगानी गरेको छ ।
अध्यक्षमा पोखरेल
रेडिमिक्स व्यवसायी संघ नेपाल, लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले भरतकुमार पोखरेललाई सर्वसम्मत निर्वाचित गरेको छ । २ वर्ष अगाडि संगठित भएको संस्थाको भेलाले संयोजक दिएको पोखरेललाई शुक्रबारको अधिवेशनले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
यस्तै संघको उपाध्यक्ष बाबुराम चौधरी, कोषाध्यक्षमा झविन्द्र अधिकारी, सचिवमा बलराम उपाध्याय निर्वाचित भएका छन । कार्यसमिति सदस्यमा दिनेश भुसाल, दीपक काफ्ले, भीमबहादुर शाही, अस्मित पोखरेल र सुदिप त्रिपाठी निर्वाचित भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । संघको सल्लाहकारमा ध्रुवकुमार श्रेष्ठ, सीताराम उप्रेती, चन्द्रमणि अधिकारी, रविरञ्जन कुमार, सुजितकुमार गुप्ता र मोहन भुसाल चयन भएका छन् ।
