भैरहवा । सामाजिक संस्था जेसीआई सिद्धार्थ लेडीले लुम्बिनी प्रेस क्लब, रुपन्देहीलाई पानी प्रसोधन गर्ने उपकरण (फिल्टर) प्रदान गरेको छ ।
पत्रकारहरुको साझा संस्था क्लबको नवनिर्मित भवनमा जेसीआई सिद्धार्थ लेडीको पनि केही अपनत्व होस भन्ने उद्देश्यका साथ संस्थाले क्लबलाई फिल्टर हस्तान्तरण गरेको हो । सामाजिक संस्थाहरुमा सबैको सहकार्य हुनुपर्छ भन्ने मान्यता अनुसार संस्थाले लुम्बिनी प्रेस क्लब, रुपन्देहीको चौथो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारलाई सफल कार्यकालको शुभकामना तथा बधाई समेत दिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्माले क्लबले जेसीआई सिद्धार्थ लेडी, नेपालसँग निरन्तर सहकार्य गर्दै जाने बताए । उनले भने, ‘एकताबद्ध भएर अघि बढ्नुपर्छ । क्लबका संस्थापक उपाध्यक्ष समेत रहेका शर्माले जेसीजको आफ्नै पहिचान रहेको बताए । उनले विगतमा आफू पनि जेसीजमा काम गरेर अनभुव बटुलिसकेको बताए । शर्माले भने, ‘संघ–संस्था सामाजिक क्षेत्रका गहना हुन् ।
त्यस्तै क्लबकी अध्यक्ष सम्झना शर्माले एकढिक्का हुन आवश्यक रहेको बताइन् । उनले कुनै समस्या भए छलफलबाट समाधान खोज्नुपर्ने बताइन् । उनले भनिन्, ‘मिलेर अघि बढ्नु आजको आवश्यकता हो ।
जेसीआई सिद्धार्थ, नेपालकी पूर्वअध्यक्ष रचना क्षेत्रीले लुम्बिनी प्रेस क्लबसँग सहकार्य गर्दै अघि बढ्दै बताइन् । उनले एक–अर्काको सहयोगले अगाडि बढाउने बताइन् । उनले क्लबको नवनिर्मित भवनमा केही भए पनि हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताइन् । उनले जेसीआई सिद्धार्थ, नेपाल जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा दर्ता भइ सामाजिक कार्य गर्दै आएको बताइन् ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ की अध्यक्ष विष्णु पाण्डेले सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिइन् । उनले क्लबसँग सहकार्य गर्दै संस्थाले कार्यक्रम अघि बढाउने बताइन् । जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ का महासचिव हरिलाल जैसवालले लुम्बिनी प्रेस क्लबका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ की अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता, कार्यक्रम संयोजक मीना ज्ञवालीको स्वागत, तालिक संयोजक प्रतिमा तिमिल्सनाको आस्था पाठ तथा शाखा सम्पादक मीनाक्षी क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालकी निवर्तमान अध्यक्ष प्रकृति उप्रेती, पूर्वअध्यक्ष पार्वती पौडेल लगायतको उपस्थिति रहेको थयो ।
