विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघद्वारा ऐक्यवद्धता र्‍याली तथा विरोध प्रदर्शन

काठमाडौं,बैशाख २०

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आईतवार काठमाडौंको माईतीघर मण्डलामा ऐक्यवद्धता र्‍याली तथा विरोध प्रदर्शन गरेको छ ।

सञ्चार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आफ्नो आन्दोलनको स्वरूपअनुसार उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेख्य वृद्धि भएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

महासंघको अनुगमन प्रतिवेदनअनुसार गत वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकामा यस वर्ष त्यो संख्या बढेर १ सय ३१ पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारको १०० दिन पूरा भइसक्दा पनि प्रेस जगतका लागि उत्साहजनक वातावरण नबनेको र बरु राज्यका पछिल्ला गतिविधिले महासंघ सशंकित भएको बताउनु भयो ।

विशेष गरी सरकारी विज्ञापन र सूचनाहरू केवल सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको सचिवस्तरीय परिपत्रले निजी सञ्चार माध्यममाथि ‘आर्थिक नाकाबन्दी’ लगाएको महासंघको ठहर छ ।

यस कदमले लोकतन्त्रको आधारस्तम्भ मानिने मिडियाको मुख थुन्ने प्रयास गरेको र धेरै श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिएको अध्यक्ष शर्माको जिकिर छ ।

त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकारहरूलाई विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा लगाउने र प्रहरीले समाचारको स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोमा पनि महासंघले आपत्ति जनाएको छ । उहाँले यसलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र लोकतन्त्रका लागि ‘खतराको घण्टी’ भनी टिप्पणी गर्नुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, ‘पत्रकारले समाचार लेखेकै र बोलेकै आधारमा राज्य र गैर–राज्य पक्षबाट दमन भइरहेको छ । लेख्न पाउने अधिकार कुण्ठित गर्ने प्रयास जारी छ ।’

र्‍यालीमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दवाडी, नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र,नागरिक समाजका अगुवाहरू तथा विभिन्न प्रेस संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षाका लागि नागरिक समाज र मानवअधिकारकर्मीहरूसँग ऐक्यवद्धताको अपिल गरेका छन् ।

नेपाल पत्रकार महासंघले विगत १५ दिनदेखि विभिन्न माग राखी आन्दोलन गरिरहेको छ। अन्तर्राष्ट्रिय पत्रकार महासंघ र युनेस्को लगायतका संस्थाहरूले पनि नेपालको सञ्चार क्षेत्रमा देखिएको वर्तमान संकट र सरकारी नीतिका विरुद्ध ऐक्यवद्धता जनाइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!