भैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताएका छन । हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायब महानिरिक्षक (डीआईजी) राईले प्रहरीमा निवेदनका लागि पिडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएकोले जो कोही पनि प्रहरीको सेवा लिन असमर्थ रहेको भन्दै प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदनको लागि व्यवस्थापन गरिने बताए ।
प्रहरी २४ घण्टै सेवामा हुन्छ, निःशुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह हुने उनले भने । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने हुदा कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउदै डिआइजी राईले अपराधीलाई संरक्षण नगरी प्रहरीलाई सुचना दिएर सकारात्मक भूमिका खेल्नु पर्ने बताए । लुम्बिनी प्रदेश र भारतसँग करिब ३८५ किलोमिटर खुला सिमा भएकोले सिमाना सुरक्षाका लागि ठूलो चुनौती रहे पनि भएको जनशक्ति र स्रोत साधनका वावजुद तस्करी र अपराध नियन्त्रण प्राथमिकतामा रहेको बताए ।
प्रदेश प्रहरी कार्यालय र मातहतका युनिटसँग अपराध र तस्कारी नियन्त्रणको कार्ययोजना बनाई समन्यात्मक टिम बनाइएको छ । लागु औषध लगायतका ठूला समस्या नियन्त्रणका लागि विशेष युनिटहरु समेत बनाइएको डिआइजी राईले भने ।
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकालले समग्र १२ जिल्लाको अवस्था, प्रहरी युनिट र प्रहरीले गरेको कामकारवाहीको प्रगति बारे अवगत गराएका थिए । उनले प्रहरी सेवा प्रवाह, अपराध अनुसन्धान, फैसला कार्यान्वयन तथा मुद्दा दर्ता र फर्स्यौट, कारवाही अवस्थाबारे विफ्रिङ गरेका थिए ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले स्रोतसाधन र जनशक्तिको अधिकतम प्रयोग गरिएको बताए । उनले चेकप्वाइन्ट व्यवस्थित गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले लागूऔषध ओसारपसार र दुर्घटना न्यनीकरणका लागि प्रहरी लागिपरेको बताए ।
