भैरहवा, १० वैशाख
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो पाँच महिनाको अवधिमा ३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर १ गतेदेखि चैत मसान्तसम्ममा ३ करोड १० लाख २८ हजार रुपैयाँ संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीका अनुसार १४ हजार ६ सय ३९ वटा सवारीसाधनलाई गरिएको कारवाहीबाट उक्त राजस्व संकलन भएको हो ।
त्यस्तै सोही अवधिमा रुपन्देहीमा ३८९ सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७१ जना गम्भिर घाइते भएका छन् ।
तीव्र गति, मादकपदार्थ/लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, चालकको लापरवाही, सडक संरचनालगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । धेरैजसो दुईपांग्रे (मोटरसाईकल/स्कुटर) सवारी दुर्घटना हुने गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न कार्यहरु अगाडि बढाएको छ । ट्राफिक आवागमनमा सहजता हुने हेतुले बजार क्षेत्रस्थित सडकखण्डहरुमा ट्राफिक कोन तथा डिभाईडरहरु राखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाको मुख्य बजार क्षेत्र तथा वडा नम्बर १ स्थित बेलहियामा ‘नो पार्किङ’ एरिया छुट्टाई कडाइका साथ लागू गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
त्यसै गरी यस अवधिमा स्वरुप परिवर्तन गरी चलाउने गरिएका मोटरसाईकलहरुलाई नियन्त्रणमा लिइएकोमा थप कारवाहीका लागि चारवटा मोटरसाईकल यातायात व्यवस्था कार्यालय पठाइएको उहाँले जानकारी दिनुभयो । २३ वटा मोटरसाईकलको साईलेन्सर फेर्न लगाइ पठाइएको उहाँले बताउनुभयो
‘विभिन्न स्थानमा जेब्रा क्रसिङ बनाइनुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय तथा सवारीचालकरुलाई विभिन्न स्थानमा गरी ७५ पटक सचेतना कार्यक्रम गरिएको छ, ’उहाँले भन्नुभयो ।
