बर्दियामा युएनओपिएसद्वारा महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबारे छलफल

बर्दिया, १० वैशाख

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले निर्माणाधीन सेवा केन्द्र भवनबारे राजापुरमा सामुदायिक स्तरमा विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राजापुर नगरपालिकाको कार्यबाहक नगरप्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा भएको हो ।

परियोजना सेवा कार्यालय (युएनओपिएस) को समन्वयमा नेपाल सरकार तथा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित ‘महिला उत्थानशील परियोजना’ अन्तर्गत इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाको परिसरमा उक्त भवन निर्माण भइरहेको छ ।

निर्माणपूर्व चरण (प्री–कन्स्ट्रक्सन फेज) अन्तर्गत आयोजना गरिएको सामुदायिक परामर्श बैठकले भवनलाई थप व्यवस्थित, पहुँचयोग्य र सेवामुखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने युएनओपिएसले जनाएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणले सक्रिय सहभागीता जनाउँदै भवन निर्माणका विभिन्न पक्षमा सुझाव दिएका थिए । सहभागीहरूले विशेष गरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि सुरक्षित, गोपनीय र सहज सेवा उपलब्ध गराउने खालको संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । हाल प्रहरी कार्यालयमा लक्षित समूहका लागि पर्याप्त र उपयुक्त सुविधा अभाव रहेको उल्लेख गर्दै नयाँ भवनबाट सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गरिएको छ ।

युएनओपिएसकी प्राविधिक इन्जिनियर प्रेक्षा सिंहका अनुसार नेपालका विभिन्न जिल्लामा यस्ता सेवा केन्द्रहरू निर्माण भइसकेका छन् । ती संरचनाले सेवाग्राहीलाई अपेक्षाकृत सहजता प्रदान गरेका छन् । सोही अनुभवलाई आधार मानेर राजापुरमा पनि गुणस्तरीय संरचना निर्माणमा ध्यान दिइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा नम्बर ४ का वडाध्यक्ष बिदुर पोखरेल, इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख कविन्द्रसिंह बोहरा, महिला सञ्जालकी सदस्य बसन्ती थारु लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणको उपस्थिति थियो ।

पछिल्लो समय युएनओपिएसले नेपालका विभिन्न सामाजिक तथा पूर्वाधार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसले स्थानीय तहमा सेवा पहुँच विस्तार र सामाजिक समावेशीतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!