बुटवलमा जीतगढी विजय उत्सव सुरु

बुटवल, ७ वैशाख

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो ।

उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ । युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’ को रूपमा चिनाएको इतिहासमा उल्लेख छ ।

बुटवलको तिनाउ नदी किनारस्थित जीतगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गर्नुभएको थियो भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गर्नुभएको थियो । उक्त युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।

युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

इतिहास अनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । युद्धमा विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको र अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ ।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जीतगढी’ रहन गएको स्थानीय जानकार बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!