विजयनगरका विकास योजना अघि बढाउन मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

बैशाख १ ,कपिलवस्तु

विजयनगर गाउँपालिकाले समग्र विकास र पूर्वाधार विस्तारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष महत्वपूर्ण योजनासहित ज्ञापनपत्र पेश गरेको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा गाउँपालिकाले सडक, सिंचाइ, नदी नियन्त्रण, शिक्षा तथा पर्यटकीय विकाससँग सम्बन्धित विभिन्न योजनाहरू प्राथमिकताका साथ अघि बढाउन माग गरेको छ ।

ज्ञापनपत्रमा शिवराज नगरपालिका सुरही पुलदेखि विजयनगर गाउँपालिका हुँदै कृष्णनगर नगरपालिका झिंगाहा जोड्ने १२ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । यस सडकलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने महत्वपूर्ण सहायक मार्गका रूपमा उल्लेख गरिएको छ ।

यसैगरी शंकरपुर ताल पुनर्निर्माण, सुरही तथा अर्रा नदीको कटान नियन्त्रण, कृषियोग्य भूमिमा सिंचाइ विस्तार, विद्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा विभिन्न स्थानमा कल्भर्ट निर्माण लगायतका योजनाहरू पनि समेटिएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रस्तुत गरिएका योजनाहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा विशेष गरी सडक योजनालाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उक्त सडकलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री आचार्यले सडकको स्थलगत अनुगमन समेत गरिसकेको उल्लेख गर्दै यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने बताउनुभयो । उहाँले स्थानीय विकासका लागि आवश्यक सहकार्य र समन्वयमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!