चैत्र २ सोमवार
भैरहवा / रुपन्देहीको मर्चवारमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजना तथा इलाका प्रहरी कार्यालय मझगाँवाको सहकार्यमा सोमबार कार्यक्रम गरिएको हो ।
कोटहीमाई गाउँपालिका–३, मर्यादपुरमा स्थानीय तथा सानाठूला सवारी चालहरुलाई ट्राफिक सचेतना प्रशिक्षण प्रदान गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रतिमा कार्कीले दुर्घटना न्युनिकरण र आमनागरिकलाई ट्राफिक नियमबारे जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम गरिएको जानकारी दिइन् ।
कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिटबेल्टको प्रयोग र सडक लेन अनुशासनबारे जानकारी गराइएको थियो । यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुनसक्ने जोखिम तथा सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू सम्बन्धी सचेतना दिइएको थियो ।
इलाका प्रहरी कार्यालय मझागाँवाका प्रमुख प्रहरी निरीक्षक तपेन्द्रबहादुर विष्टले यस्ता सचेतनाले दुर्घटना न्युनिकरणमा सहयोग पुग्नुका साथै नियम पालनाबारे जानकारी हुने बताए । आगामी दिनमा पनि ट्राफिक प्रहरीसँगको सहकार्यमा मातहतका अन्य स्थानहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने विष्टले जनाए । जिल्ला ट्राफिक प्रहरीले यस्ता ट्राफिक सचेतना कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी सडक सुरक्षामा जनचेतना अभिवृद्धि गर्दै जाने जनाएको छ ।पछिल्लो समय ट्राफिक प्रहरीेले विभिन्न चोकचौराहा, विद्यालय, संघ संस्थाहरुलाई सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
