मुस्लिम समुदायको एक महिने ब्रत ‘रमजान’ सुरु

भैरहवा । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज विहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ यो एक महिना सम्म निरन्तर हुन्छ ।

रमजान महिना अवधीभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि मस्जिदहरुमा शनिबार देखि सुरु भएको  छ । इस्लामिक क्यालेण्डर अनुसार शनिबार साबान महिनाको अन्तिम तीसौ दिनमा चन्द्रमा देखिएपछि हर्षोल्लासका साथ रमजानको सुरुवात गरेका छन । कुरआन अवतरण भएको खुसीयालीमा इस्लाम धर्मावलम्बीहरुले एक महिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजान भनिन्छ ।  एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्ने गर्छन जसलाई ‘रोजा’ पनि भनिन्छ । एक महिना भरि बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोलिन्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।

रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ ।

पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ ।

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

विशेष महिना रहेकोले अन्य समय भन्दा यो समयमा गरिएको दान धेरै महत्वपूर्ण मानिन्छ । जसका कारण रमजानमा  प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्ने, वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाली गरिब असहाय, दिनदुःखी ,मस्जिद वा मदरसा दिने गर्छन । फितरा र जकात रमजानको अन्तिम दिन इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने मान्यता छ ।

बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई व्रत अनिवार्य हुदैन । इस्लाम धर्मको पाँच स्तम्भमध्ये चार स्तम्भ यस महिनासँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ ।

रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र अर्थात ईद पर्वका रूपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!